काठमाण्डाै – नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’सञ्चालन गर्ने निर्णय गरेको हो ।
भदौ १६ देखि मङ्सिर १५ गतेसम्म सञ्चालन हुने अभियानमा माओवादीका सबै नेता नागरिकको घरघरमा परिचालन हुने पार्टीले जनाएको छ । अभियानअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सात वटै प्रदेशका सात वटा वडामा गएर नागरिकसँग प्रत्यक्ष साक्षात्कार गर्ने योजना छ ।
बैठकमा अध्यक्ष प्रचण्डले एउटा पनि घर नछाडिकन अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अरू पार्टीका नेता कार्यकर्ताको घरमा गएर पनि माओवादीको भ्रष्टाचार विरोधी र विकासको अभियानबारे बुझाउन पनि प्रचण्डको निर्देशन छ ।
यस्तै प्रचण्डले आफूहरूविरुद्ध घेराबन्दी भइरहेको पनि दाबी गर्नुभएको छ । नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको उहाँकाे भनाइ थियो । अहिले पनि पार्टीका नेताहरूलाई जेल हाल्ने विषय उठ्नु गम्भीर विषय भएकाले सचेत रहन उहाँले निर्देशन दिनुभयो ।