Aamsanchar

नारायणी नदीले कटान गरेको क्षेत्रमा मर्मतको काम गर्न रेनु दाहालको निर्देशन

Author Image
सोमवार, साउन २९, २०८०

चितवन : नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छिन्। भरतपुर–२७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगल निरीक्षणका क्रममा उनले आग्रह गरिन्।

 

सरोकारवालासहित नदी तटीय क्षेत्रमा निरीक्षणमा पुग्नुभएका प्रमुख दाहालले ठेक्का लगाएका क्षेत्रमा ठेकेदारमार्फत् र अन्य क्षेत्रमा नारायणी नदी व्यवस्थापन आयोजनालाई आफैले कटान रोक्ने काम अघि बढाउन आग्रह गरिन्।

स्थानीयसँग उनले कटान गरेलगत्तै आइतबारै आयोजनालाई काम अघि बढाउन र आवश्यक परे महानगरका तर्फबाट जुनसुकै सहयोग गरिने बताएको जानकारी दिइन्। उनले स्थानीयलाई भनिन्, “तपाईहरु ढुक्क हुनुहोस् नदी बस्ती पस्न दिइदैन।”

सो ठाउँमा आयोजनाले कटान गरेको ठाउँमा एक सय बोरामा ढुङ्गा भरेर राखेको छ। त्यसैगरी आज दिउँसोसम्म चार ट्रक ठूला ढुङ्गा राखेर नदी नियन्त्रण गरिएको छ। थप ढुङ्गा आउने क्रम जारी रहेको दाहालले जानकारी दिइन्। सो ठाउँमा गरिएको तटबन्ध कटान गरेपछि आइतबार राति ११ बजेबाट काम थालिएको प्रमुख दाहालले बताइन्।

सोही क्रममा उनले भरतपुर–२८ को लौखरीको तामाङ टोल र वडा नं २६ को भगडीको शिवालय मन्दिर नजिक नारायणी नदीले कटान गरेका क्षेत्रको स्थलगत अवलोकन गरेकी थिइन्।

नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ। विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै–थोरै काम हुँदै आएकामा रकमको निकासासँगै गत वर्षबाट नदी किनारका महानगरपालिकातर्फका अधिकांश भू–भागमा काम थालिएको हो। पाँच खण्ड बनाएर काम गरिएको छ। तीमध्ये नारायणी नदी बीच मोडलको काम सम्पन्न भइसकेको छ। बुढाथोकीका अनुसार समग्रमा ३५ प्रतिशत काम सम्पन्न भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर