Aamsanchar

इलामको पशुपतिनगरमा भारतीय रुपियाँ साट्न प्रक्रिया सुरु

Author Image
मङ्गलवार, भदौ ५, २०८०

इलाम- भारतीय रुपियाँ सटहीका लागि इलामको पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैङ्कले प्रक्रिया सुरु गरेको छ । वाणिज्य बैङ्कको विभागबाट भारतीय रुपियाँ सटही गर्न निर्देशनसहितको पत्र आएपछि आजबाट बैङ्कले प्रक्रिया थालेको हो ।

सटही काउन्टर सुरु गर्न केही विधि र नियमहरू रहेकाले अबको एक सातामा प्रक्रिया पूरा गरेर सटही सुरु गरिने पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख राजन चम्लागाईंले बताउनुभयो । ‘आज सटही थाल्न पत्र आएको छ । हामीले प्रक्रिया पनि थाल्यौँ, तर अझै कतिको कारोबार हुने, यहाँको भारतीय रुपियाँको अवस्था र स्थानीयको आवश्यकता सबै कुरा बुझेर त्यसको अवस्था विश्लेषण गरिन्छ ।’

चम्लागाईंले भन्नुभयो, ‘माथिबाट पनि यहाँको अवस्थाअनुसार थप कार्यनीतिहरू आउँछन् अनि करिब साता दिनभित्र सटहीको काम सुरु गर्नेछौँ ।’ हिजो मात्रै पशुपतिनगरमा सटही काउन्टर राख्न गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिनुभएको थियो ।

गभर्नर अधिकारीले भारतीय ५० र १०० रुपियाँका साना नोट साटेर नेपाली बनाउन वाणिज्य बैङ्कलाई निर्देशन दिनुभएको थियो । पशुपतिनगरमा वर्षौँदेखि भारतीय रुपियाँ सटही बन्द हुँदा पूर्वी सीमावर्ती क्षेत्रका सर्वसाधारणले नेपाली रुपियाँको अभाव झेल्दैआएका थिए ।

यो क्षेत्रमा उत्पादित कृषिउपज, दुग्धजन्य पदार्थ बिक्री गर्नुपर्दा व्यापारीबाट किसानहरूले भारतीय रुपियाँ नै लिनुपर्ने बाध्यता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर