



दमक- झापाको दमकमा विभिन्न खाद्य सामग्री उत्पादन गर्ने उत्पादकहरुले प्रयोग गर्ने तेलमा शुद्धता नरहने गरेको र उनिहरुले तोकिएको मापदण्ड पुरा नगरी बजारमा बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
दमक नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेका अनुसार तेलमा तारेर बनाईने चिप्स लगायतका खाद्य सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्दा एउटै तेल बारम्बार प्रयोग गर्ने गरेको भेटिएको छ । एउटै तेललाई लामो समय सम्म खानेकुरा तार्न प्रयोग गरिएको भेटिएको छ, उहाँले भन्नुभयो ।
एकपटक प्रयोग गरेको तेललाई फेरि प्रयोग गर्नु हानिकारक हुने बताइन्छ । एकपटक केही खानेकुरा पकाइसकेको बासी तेललाई बारम्बार प्रयोग गर्नु स्वास्थ्य दृष्टिकोणले राम्रो नभएकाले आफुहरुले यस बिषयमा सम्बन्धित उद्योगी तथा व्यवसायीहरुलाई सचेत गराएको पनि खाद्य अधिकृत न्यौपानेले बताउनु भयो ।

‘फ्राइङ ओईल मनिटर’ साथमा लगेर प्रयोग भएको तेल अनुगमन गरिएको जनाइएको छ । यसले खाद्य पदार्थ पकाउन प्रयोग हुने तेलको अवस्था कस्तो छ भन्ने कुराको नापजाँच गर्ने भएकाले अनुगमन स्थलमा नै बुझाउन सजिलो हुने गरेको छ । फ्राइङ ओईल मनिटरले टि.पि.एम अर्थात ‘टोटल पोल भेटिरियल्स’ २५ भन्दा माथि आँउदा हरियो देखाउँछ ।
त्यस्तो अवस्थामा उक्त तेल कुनैपनि खाद्य पदार्थ पकाउनका लागि योग्य छैन भन्ने यकिनका साथ भन्न सक्छौ, उहाँले स्पष्ट पार्नु भयो । चिप्स उद्योग, भुजीया तथा दालमोठ उद्योग, थुक्पा उद्योग र बिस्कुट तथा पाउरोटी उद्योगहरुमा आफुहरुले अनुगमन गरेको उहाँको भनाई छ ।
आ.व. २०७९/०८० मा १९३ वटा पसल र उद्योगहरुमा अनुगमन गरिएको न्यौपानेले जानकारी दिनु भएको छ । २२ वटा उद्योग, २६ वटा विद्यालयका चमेना गृह, १९ वटा मासु पसल र १२६ वटा पसलहरु अनुगमन गरिएको उहाँले जनाउनुभयो ।
व्यवसाय दर्ता नगरी लामो समयबाट संचालन गरी रहेको र दर्ता भएकाको नविकरण नगरेको भेटिएको मिति गुज्रिएको सामानहरु फेला परेको उद्योग र होटलहरुमा सरसफाइको कमी रहेको, मुल्य सूचि नराखिएको, इजाजत पत्र नलिई मदिरा विक्री वितरण गरिएको भेटिएको उहाँले जानकारी दिनुभयो । खाद्य रंगको मात्रा र मापदण्ड नबुझिकन प्रयोग गरिएको भेटिएको पनि न्यौपानेले बताउनुभयो ।