



काठमाडौं : काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस आज बिहान त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहरामा सडकबाट करिब ४० मिटर तल नदीमा खसेको हो। दुर्घटनामा मृत्यु हुनेमा ६ जना पुरुष र २ जना महिला रहेका छन्।
उनीहरूको परिचय खुलिनसकेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जैसवालले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा अहिले उद्धार कार्य जारी छ। उद्धारमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र ट्राफिक प्रहरी खटिएका छन्। बसबाट आठ जनालाई उद्धार गरि नजिकको अस्पताल पठाइएको डिएसपी जैसवालले बताए।
उनका अनुसार बस अनियन्त्रित भएर सडकबाट खसेको थियो। बसका चालक÷सहचालक को हुन् र बसमा कति जना यात्रु थिए भन्ने बारे अहिलेसम्म यकिन भएको छैन। बसको आधा भाग पानीमा डुबेकाले त्यहाँ केही यात्रु च्यापिएको हुनसक्ने र केही उछिट्टिएर नदीमा बगेको हुनसक्ने आशंका गरिएको छ।