Aamsanchar

आजकाे माैसम : बिहानैदेखि चारवटा प्रदेशमा वर्षा

Author Image
बिहिवार, भदौ ७, २०८०

काठमाडौं – मनसुनी गतिविधि सक्रिय हुँदा आज केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ । काठमाडौंलगायत विभिन्न भू–भागमा केही दिनदेखि वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाको समेत सम्भावना रहेका क्षेत्रका नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयको सम्भावना रहेको विभागको भनाइ छ । जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर