Aamsanchar

विप्लव नेतृत्व पार्टीको मेची ब्युरोले उद्योगी व्यवसायीहरूको हित र संरक्षण गर्ने

Author Image
बिहिवार, भदौ ७, २०८०

बिर्तामोड । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टी मेची ब्युरोले नेपाली उद्योगी व्यवसायी माथि भैरहेको चौतर्फी आक्रमण विरुद्ध कडा प्रतिवाद गर्दै नेपाली उद्योगी, व्यवसायीको हित र संरक्षणमा संघर्ष गर्ने निर्णय गरेको छ ।
पार्टीको मेची ब्युरो इन्चार्ज सुमन सी ले बुधबार पत्रकार भेटघाट कार्यक्रम मार्फत मेची ब्युरोको दोस्रो पूर्ण बैठकको निर्णय अनुसार सङ्घर्षको कार्यक्रम शीर्षकको १३ नं। बुँदामा यस्तो निर्णय भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भदौ ५ गते सम्पन्न बैठकले झापा जिल्लालाई विभाजन गरेर दुईवटा जिल्ला बनाई दमक केन्द्र रहने गरि र ७ वटा पालिका हेर्ने गरि इन्चार्जमा सञ्जय सी र सेक्रटरीमा बिनोद सीलाई जिम्मेवारी प्रदान गरेको छ । त्यसैगरी भद्रपुर केन्द्र रहने गरि ८ वटा पालिका हेर्नको लागि इन्चार्जमा प्रशान्त सी र सेक्रटरीमा हुकुम सीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै इलाम जिल्ला इन्चार्जमा मौसम सी, सेक्रटरी नवराज सी रहेका छन भने पाँचथर जिल्लाको लागि इन्चार्ज सन्तोष सी र सेक्रटरीमा विद्रोही सीलाई जिम्मेवारी प्रदान गरिएको मेची ब्युरो इन्चार्ज सुमन सीले बताए ।

पार्टीको बैठकले सङ्घर्षका कार्यक्रमहरू पनि तय गरेको छ । सैन्य उद्देश्यलाई कटौती नगरी लागू गर्न खोजिएको राष्ट्रघाती एमसीसी विरुद्ध शसक्त प्रतिरोध, मानव तस्करहरूको पहिचान गरि पीडितहरूको सहभागितामा शसक्त कारवाही सञ्चालन, लघुवित्त, मिटरब्याजी र चर्को बैंक ब्याजदर विरुद्ध जारी संघर्षलाई निरन्तरता दिने, महिला हिंसा र जातीय विभेद विरुद्ध कडा कारवाही सञ्चालन गर्ने, सिमा अतिक्रमण विरुद्ध संघर्ष सञ्चालन गर्ने, भ्रष्टाचारी, कालोबजारी, महँगी र ठगी विरुद्ध कडा कारवाही गर्ने, लागूऔषध गिरोहलाई कारवाही गर्ने, मजदुरको उचित पारिश्रमिक र सुविधाको विषयमा संघर्ष गर्ने जस्ता १३ वटा सङ्घर्षका कार्यक्रम विज्ञप्तिमा उल्लेख छ ।  उक्त कार्यक्रमहरू आगामी ६ महिना भित्र सम्पन्न गर्ने बताइएको छ ।

पार्टीका नेता कार्यकर्ताहरूलाई आर्थिक आत्मनिर्भर बन्नको लागि उत्पादनमुखी कार्य गर्ने त्यसका लागि कृषि उत्पादन, उद्योग र व्यवसायमा जोड्ने पार्टीको नीति रहेको बताइएको छ । झापाका सबै पालिकामा न्यनतम एक बिघा खेती गर्ने, इलाममा अकबरे, चिया, अदुवा खेतीगर्ने र पाँचथरमा बाख्रा पालन गर्ने निर्णय भएको बताइएको छ । त्यसैगरी आर्थिक उपार्जनको लागि पार्टीले सञ्चालनमा ल्याएको सी भान्सालाई झापाको मुख्य चोकहरूमा स्टल राख्ने ब्युरो इन्चार्ज सुमनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी मेची ब्युरोले एउटा सांस्कृतिक टिम खडा गर्ने, सी जातीको बहस तथा प्रयोगलाई व्यापक बनाउने, सी जातीको संस्कार अनुसार आगामी असोज २५ गते सडकमा निस्किएर मृतक आफन्तको सम्झनामा कार्यक्रम गर्ने बताइएको छ । पत्रकार भेटघाट कार्यक्रममा सी जाती भनेको के हो भन्ने पत्रकारको प्रश्नमा इन्चार्ज सुमनले भने ‘ सी जाती भनेको नेपालमा स्थापना गर्न लागिएको नयाँ जाती हो । हाल भएका जातीहरूमा विभेद, जातको नाममा अत्याचारहरू धेरै छन । नयाँ सी जाती जातपात, उचोनिचो रहित समान अनि खर्चिलो र लादिएको अव्यवहारिक परम्परा विरुद्धको विकल्प हो ।’

मेची ब्युरोले पाँचथरमा शहीद प्रतीक्षालय निर्माण, इलाम र झापामा शहीद स्मृति समाज घर निर्माण गर्ने भएको छ । ब्युरोले आफ्नै त्रैमासिक म्यागाजिन प्रकाशन पनि गर्ने र अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित गर्ने भएको छ । समाजिक कार्य अन्तरगत चारवटा जिल्लामा स्वास्थ्य शिविर सञ्चालन, पशुमा देखा परेको लम्पि स्किन  रोग नियन्त्रणको लागि आफ्नो पार्टीमा आवद्ध व्यक्तिहरूले घरेलु औषधि पत्ता लगाएको र परिक्षण गर्दा प्रभावकारी देखिएकोले उक्त औषधि किसानहरूको घरघरमा पुर्याउने विज्ञप्तिमा उल्लेख छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१