Aamsanchar

मेरो श्रीमतीलाई गालीगलौज र हातपात गरे : महेश बस्नेत

Author Image
सोमवार, वैशाख १४, २०८३

काठमाडौँ –  नेकपा एमालेका सचिव महेश बस्नेतले केटा मान्छेसहित केही महिलाहरूले आफ्नो श्रीमतीलाई गालीगलौज गर्नुका साथै हातपात गरिएको बताएका छन्।

सोमबार दिउँसो माइतीघर मण्डलामा शोभा पाठक र महेश पत्नीबिच झडप भएको थियो ।

शोभा पाठक, रश्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्बहाली गर्नुपर्ने भन्दै धर्ना बसिरहेका बेला महेश पत्नी अम्बिकासहित केही महिलाहरू पनि माइतीघर पुगेका थिए ।

झडपपछि सचिव बस्नेतले लेखका छन्,‘मेरो र हाम्रो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले समेत मेरो श्रीमती सहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेका छन्। उल्टै, मेरो श्रीमतीसहित आठ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।’

यस घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढङ्गले प्रस्तुत गर्दै भ्रामक प्रचार गरिरहेकामा बस्नेतले आपत्ति समेत जनाएका छन् ।

माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय भएको उनले बताए ।

‘यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त हुँदैन। पीडित आफैँले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो सङ्केत होइन,’उनले भने,‘सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ। अन्यथा, सशक्त प्रतिरोध गरिनेछ।’

यता शोभा पाठकले भने महेश बस्नेत पत्नी र नेकपा एमालेका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको बताइन्।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर