Aamsanchar

बिर्तामोड २ का विद्यालय क्षेत्र नजिक सुर्ती तथा मदिराजन्य बस्तु बिक्री गर्न नपाइने, नगरपालिकाले भने अनुमति पत्र दिएको छ 

Author Image
शुक्रवार, भदौ ८, २०८०


चारपाने । झापाको बिर्तामोड नगरपालिका २ नं वडा मा पर्ने सामुदायिक र निजी शिक्षण संस्था देखि एक सय मिटर दूरी भित्र सुर्ती तथा मदिराजन्य बस्तु बिक्री तथा वितरणमा प्रतिबन्ध गर्न आज (शुक्रबार) सचेतना अभियान सञ्चालन भएको छ ।
नंं वडा कार्यालय र उज्यालो चारपाने बालक्लबको आयोजनामा सचेतना अभियान सुरु भएको हो । 

विद्यालय क्षेत्र देखि एक सय मिटर दूरी भित्रमा सुर्ती तथा मदिराजन्य बस्तु बिक्री गर्ने काम भएको भए १५ दिन पछि बिक्री बितरण नगर्न भनेर व्यवसायीहरूलाई अभियानमा गएको टोलीले सचेत गराएको छ ।
संघीय ऐनमा विद्यालय क्षेत्र नजिक सुर्ती तथा मदिराजन्य बस्तु बिक्री गर्न नपाइने उल्लेख भएको छ । तर ऐन अन्तरगतको कानुन कार्यन्वयन नहुँदा बिर्तामोड २ स्थित विद्यालयहरू नजिक सुर्ती तथा मदिरा जन्य बस्तु बिक्री गर्ने काम खुलेआम भएकोले यस्तो कार्यलाई रोक्नको लागि आज देखि अभियान सुरु गरिएको बिर्तामोड २ का वडाध्यक्ष किशोर पौडेलले बताए । 

बिर्तामोड २ को वडा कार्यालयमा स्थानीय समाजसेवी, दलहरूका प्रतिनिधि,  शिक्षक, विद्यार्थी, नगर प्रहरी, जनप्रतिनिधि सहितको उपस्थितमा औपचारिक कार्यक्रम आयोजना गरेर अभियानको शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रमलाई बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईँले सम्बोधन गरेकी थिइन । सम्बोधनको क्रममा नगर प्रमुख प्रसाईँले भनिन ’नियम कानुनको पालन नहुँदा बिर्तामोड नगरलाई सफा र व्यवस्थित गर्न कठिनाइ भइरहेको छ । विद्यालयको छेउमै सुर्ती तथा मदिराजन्य बस्तु बिक्री हुँदा विद्यार्थीहरू कुलतमा फस्न सक्ने र विद्यालय क्षेत्र आसपास सुर्तीजन्य र मदिरा जन्य बस्तुको खोल  तथा बोटलहरू यत्रतत्र देखिनुले बालबालिकाहरूमा नकारात्मक प्रभाव पर्ने र त्यसले कालान्तरमा घरपरिवार र समाजलाई नराम्रो असर पार्ने छ त्यसैले यस्तो कार्यलाई रोक्नको लागि नागरिक समाज सरोकारवालाहरू पनि लागि पर्नुपर्ने हुन्छ ।’

अभियानको टोली बिर्तामोड –२ को वीर अमरसिंह माध्यमिक विद्यालय बेलडाँगी, मोहनमाया माध्यमिक विद्यालय, निधि माध्यमिक विद्यालय रामचोक, सहारा शिक्षा सदन, बालकल्याण माध्यमिक विद्यालय चारपाने, पञ्चरत्न माध्यमिक विद्यालय चैतुबारीको विद्यालय नजिकका पसलहरूमा अभियान टोलीले व्यवसायीहरूलाई १५ दिन पछाडि कुनैपनि सुर्ती तथा मदिरा जन्य बस्तु बिक्री वितरण गर्दिन भनेर प्रतिवद्धता पत्रमा व्यापारी सञ्चालकरूलाई सहीछाप गराइएको छ । 

बेलडाँगी स्थित रामचन्द्र मदिरा सेन्टरमा भने अभियन्ता र सञ्चालक गोविन्दबहादुर थापा बिच वाद प्रतिवाद भएको थियो ।  रामचन्द्र मदिरा सेन्टर वीर अमरसिंह माध्यमिक विद्यालय देखि करिव ५० मिटर दूरी भित्र पर्छ । अभियन्ताहरूले मदिरा सुर्ती जन्य बस्तु बिक्री गर्न पाउनु हुन्न कानुन विपरित कार्य हो भनेका थिए अभियन्ताको कुरा लाई व्यवसायी थापाले सिधै प्रतिवाद गरेका थिए । उनले बिर्तामोड नगरपालिकाले दिएको मदिरा बिक्री अनुमति पत्र र राजस्व तिरेको रसिद देखाएका थिए । नगरपालिकाले मनपरी गर्ने जे मन लाग्यो आफूखुसी निर्णय गर्ने, व्यवसायीहरू सँग परामर्श नगरी गरिएको निर्णयलाई आफूले नमान्ने थापाले जिकिर गरेका थिए । थापाको विषयमा भने स्थानीय सरकार चुकेको देखिएको छ । थापाले अनुमति पत्र देखाएपछि नाजवाफ भएर नगरपालिकाका प्रतिनिधिहरू फर्किएका थिए । केही प्रतिनिधिहरूको भनाई थियो । ‘अब नगरपालिकाले विद्यालय छेउमा मदिरा बिक्रीका लागि दिएको अनुमति पत्र खारेज गर्नुपर्छ अनि मात्र अभियानलाई अघि बढाउन सकिन्छ ।’

बिर्तामोड नगरपालिकाले नगर क्षेत्रलाई सुर्ती जन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । गत साउन १ गते देखि लागू हुने भनिएको नियम कार्यनयनमा भने आउन सकेको छैन । यसै बिच बिर्तामोड २ ले विद्यालय क्षेत्र नजिकमा सुर्ती तथा मदिराजन्य बस्तु बिक्रीमा प्रतिबन्ध गराउने निर्णय गरेको छ । वडाको यो निर्णय कार्यन्वयन हुन्छ की हुँदन अबको १५ दिन पछि देखिने नै छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर