लक्ष्मीपुर । अर्जुनधारा–५ र कनकाई–८/९ क्षेत्रलाई कार्यक्षेत्र बनाउँदै आएको लक्ष्मीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार अर्जुनधारा–५ स्थित बिहीबारे बजारमा आयोजित सभामा संस्थाको गत आर्थिक वर्षको उपलब्धि र आगामी वर्षका कार्यक्रम सार्वजनिक गरिएको छ।

संस्थाका अध्यक्ष नेत्रबहादुर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ ले गरेका थिए। कार्यक्रममा अध्यक्ष नेपालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा संस्थाले उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिए।


अध्यक्ष नेत्रबहादुर नेपाल ।
उनका अनुसार अघिल्लो वर्षसम्म १,१६६ धारा जडान रहेकोमा चालु वर्षमा २३४ थप भई कुल १,४०० धारा जडान पुगेको छ। साथै, विद्युत आपूर्ति अवरुद्ध हुँदा पनि पानी वितरणमा समस्या नआओस् भन्ने उद्देश्यले ६२ केभिए क्षमताको जेनेरेटर खरिद गरी सञ्चालनमा ल्याइएको उनले बताए।




प्रमुख अतिथि अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन तामाङ ।
कार्यक्रममा नगर प्रमुख तामाङले संस्थाको सेवा विस्तार र गुणस्तर सुधारमा नगरपालिकाबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। साथै, कनकाई–८ का वडाध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष लीलाबहादुर कटुवाल, अर्जुनधारा–५ का वडाध्यक्ष गिताराज खड्का, सल्लाहकार समितिका तर्फबाट बृहस्पति उप्रेतीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विभिन्न कार्यक्रम पनि सार्वजनिक गरिएको छ। जसअनुसार धारा जडान शुल्क, पानी महशुल व्यवस्थापन, सामाजिक सुरक्षा कोषमा कर्मचारी समावेश, टोल समिति गठन, दातृ निकायसँग सहकार्य, पूर्वाधार विस्तार तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना अघि सारिएको छ।
त्यसैगरी, संघीय खानेपानी तथा ढल विकास कार्यालयमार्फत ८ करोड ५० लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने योजना समेत अघि बढाइएको जानकारी दिइयो। सेवा प्रवाहलाई छिटो बनाउन प्राविधिकका लागि विद्युतीय स्कुटर र मोटरसाइकल खरिद गर्ने योजना पनि प्रस्तुत गरिएको छ।
संस्थाका उपाध्यक्ष छविलाल खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रममा कोषाध्यक्ष टेकबहादुर बस्नेतले आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक पूर्णप्रसाद बेडारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन लेखा समिति सदस्य टेकनाथ अधिकारीले गरेका थिए।
सभामा संस्थाका सल्लाहकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी तथा उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको संस्थाका सचिव बुद्धिसागर कट्टेलले जानकारी दिए।


