



सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टाको लागि धरानमा निषेधाज्ञा जारी गरेको छ । आज राति १२ बजे देखि भोलि ९ गते राती १२ बजे सम्म धरानमा निषेधाज्ञा लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले आज आदेश जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो । धरानमा पछिल्लो समय धार्मिक तथा सांस्कृतिक विवाद चर्किदै गएपछि धरानको शान्ति सुरक्षाको अवस्था गम्भिर बन्दै गएको छ । पहिचानवादीहरूले सार्वजनिक रुपमा गोरुको मासु खाएर भोज गरेपछि हिन्दु धर्म सम्बद्ध पक्षले भोलि ९ गते धरानमा कार्यक्रम राखेको थियो । धरानमा गौ रक्षाका लागि हुने कार्यक्रममा धरान बाहिरबाट समेत सहभागि हुने र धरानमा मुडभेटको अवस्था आउन सक्ने भएपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले धरानका भित्र हिँडडुल गर्न परे स्थानीय प्रशासनको स्वीकृति लिनु पर्ने भन्दै धरान प्रवेश गर्ने चार वटै नाका सिल गरेको छ । चतराबाट धरान आउने झण्डा चौक, नहडा, पानीपिया तथा भेडेटार क्षेत्रबाट आज राती १२ बजे देखि धरान प्रबेश गर्न निषेध गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ । यसैबीच शुक्रबार धरानका राजनैतिक दलहरूले प्रेस विज्ञप्ति जारी गर्दै वार्ता र सम्बादका माध्यमबाट समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
