Aamsanchar

स्याङ्जाकी लिना पाण्डेले एक वर्षमै ८ सय ६७ वटा किताब पढिन्

Author Image
शुक्रवार, भदौ ८, २०८०

स्याङ्जा – नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा रहेको यो विद्यालयमा कक्षा दुईमा अध्ययनरत हुनुहुन्छ स्थानीय लिना पाण्डे । आठ वर्षीया लिनाले एक वर्षको अवधिमा आठ सय ६७ वटा पुस्तक पढेर सबैलाई चकित पार्नुभएको छ ।

विसं २०३० मा स्थापना भएको विद्यालयमा बाल पुस्तकालय नहुँदा साना बालबालिकामा विषयवस्तुभन्दा बाहिरका पुस्तक पढ्ने चलन थिएन । अहिले विद्यालयमा बाल पुस्तकालय स्थापना भएपछि यहाँका बालबालिकामा पुस्तक पढ्ने रुचि विकास हुँदै गएको पुस्तकालयकी व्यवस्थापक रुपा न्यौपानेले बताउनुभयो ।

एक वर्ष अगाडि विद्यालयमा साक्षरता कार्यक्रम लागू भएसँगै बाल पुस्तकालय स्थापना भएको उहाँले जानकारी दिनुभयो । ‘बालमैत्री पुस्तकालयमा साना कक्षाका विद्यार्थीले रमाइला–रमाइला बालकथाका पुस्तक पढ्न शुरु गरेका छन्’, व्यवस्थापक न्यौपानेले भन्नुभयो, ‘विद्यार्थीले पुस्तकालयमा मात्र नभएर आफूलाई मनपर्ने पुस्तक घरमा लगेर पनि पढ्ने बानीको विकास गरिरहेका छन् ।’ उहाँले बालबालिकाले घरमा लगेका पुस्तक फिर्ता गर्ने क्रममा किताबभित्रका विषयवस्तु सोध्दा सही उत्तर दिने गरेको बताउनुभयो ।

यसअघि विद्यालयमा बाल पुस्तकालय नहुँदा बालबालिका उमेरअनुसार बाहिरी पुस्तक पढ्नबाट वञ्चित थिए । लिनालाई पनि किताबसँग रमाउने बानी परेको थिएन । पाठ्यक्रम र पाठ्यपुस्तकमा जे छ, शिक्षक–शिक्षकाले जे पढाउनुहुन्छ त्यही विषयवस्तुमा सीमित हुनुपर्ने बाध्यता थियो ।

व्यवस्थापक न्यौपानेले पुस्तकालयमा विद्यार्थीले पढ्ने गरेका पुस्तकसहितको रेकर्ड आफूले राख्ने गरेको बताउनुभयो । ‘लिनाले गएको साउनदेखि अहिले साउन मसान्तसम्म आठ सय ६७ वटा पुस्तक पढेको रेकर्ड छ’, उहाँले भन्नुभयो । न्यौपानेका अनुसार कक्षा ३ की कृतिका न्यौपाने र कक्षा २ की विभा भट्टराई पनि लिनाले जस्तै धेरै पुस्तक पढ्नेमा रेकर्ड राखेका छन् ।

लिनाकी आमा रेनुका डुम्रेले लिनाले धेरैजसो समय बालपुस्तक पढ्नमा बिताउने गरेको बताउनुभयो । उहाँले विद्यालयमा बाल पुस्तकालय स्थापना भएदेखि छोरीले टीभी, मोबाइललगायतका सामग्रीमा ध्यान दिन छोडेको बताउनुभयो । ‘स्कुलबाट फर्केपछि गृहकार्य सकाउने पहिलो काम हो, साँझको खाना खाएपछि रङ्गीन बालकथा पढ्छिन्’, डुम्रेले भन्नुभयो, ‘गृहकार्य गर्न र उनले सक्ने व्यक्तिगत सरसफाइका काम अर्याउन पर्दैन, घरमा पनि अनुशासित भएर अध्ययन गर्न सिकाएका हुन्छौँ ।’

लिनाले पुस्तकालयबाट किताब घरमै लगेर बाबाआमालाई पनि सुनाउने गरेको उहाँले बताउनुभयो । ‘एकपछि अर्को किताब कस्तो होला भन्ने लागेर नयाँ–नयाँ किताब पढ्छु’, लिनाले भन्नुभयो, ‘विद्यालय खुल्दा कहिल्यै पुस्तकालयका पुस्तक पढ्न छुटाउँदिन, किताब छानीछानी पढ्न पाइने, घरमा पनि लैजान पाइने भएकाले विद्यालय आउन मन लाग्छ ।’

लिनाले लामो समय विद्यालय बिदा हुँदासमेत पुस्तक घरमा लगेर पढ्ने गरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक पशुपति पाण्डे ‘राजु’ ले बालमैत्री पुस्तकालय स्थापना भएपछि बालबालिकाले कसैको दबाबविना पुस्तक पढ्न थालेको बताउनुभयो ।

उहाँले पुस्तकालयका कारण बालबालिकाको विद्यालयमा अनुपस्थित हुने दर कम हुँदै गएको समेत जानकारी दिनुभयो । प्रधानाध्यापक पाण्डेले पुस्तकालयका कारण बालबालिकामा विकास भएको पढ्ने सीप र बानीमा आएको परिवर्तन देखेर खुशी लागेको बताउनुभयो ।

कालीगण्डकी गाउँपालिकामा ३५ सामुदायिक विद्यालय छन् । गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले यहाँका सामुदायिक विद्यालयमा कक्षा २ मा अध्ययनरत हरेक विद्यार्थीले नेपाली सरर्र पढ्न सक्ने दाबी गर्नुभयो । उहाँले यहाँका पुस्तकालय युरोपेली मापदण्डका आधारमा सञ्चालन गरिएको बताउनुुभयो ।

सूूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले यहाँका सामुदायिक विद्यालयमा क्लबले पुस्तकालय  व्यवस्थापनको काम गरिरहेको बताउनुभयो । उहाँले ‘रुम टु रिड’ संस्थाको सहयोगमा बालमैत्री पुस्तकालय सञ्चालन गरिएको जनाउँदै यस अभियानमा पछिल्लो समय पालिकाले पनि लगानी गरेको बताउनुभयो । विद्यालयमा रहेका पुस्तकालयको अनुगमन, रेखदेख र व्यवस्थापनका लागि १५ शिक्षकसहित दुई जना प्राविधिक टोली खटाइएको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर