Aamsanchar

वीरता लेडी जेसीजद्वारा कनकाईमा स्वास्थ्य शिविर, सेवाग्राहीको सङ्ख्याले आयोजक र डाक्टर खुसी

Author Image
शनिवार, भदौ ९, २०८०


बिर्तामोड । झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुर स्थित अन्नपूर्ण स्कुलको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वीरता लेडी जेसीजको आयोजना र विएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा आज (शनिवार) स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

‘मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो’ भन्ने मूलमन्त्र बोकेको जेसीजले आर्थिक अवस्था कमजोर भएको कारण स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका व्यक्तिहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा १ सय ८० जनाले  सेवा लिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले बताइन । उनले भनिन ‘हामीले सोचे भन्दा उत्साहजनक रुपमा सेवाग्राहीले सेवा लिएका छन् । हाम्रो लक्ष्य थियो बढीमा १ सय जनालाई सेवा दिन सकौं तर  धेरैले सेवा लिनु भयो, व्यवस्थापनमा केही चुनौतीहरू आए तर सोचे भन्दा धेरैलाई स्वास्थ्य सेवा दिन पाएकोमा हामी खुसी छौं ।’

स्वास्थ्य शिविरमा बालरोग, फिजिसियन, स्त्री रोग, आखा र हाडजोर्नी रोग विशेषज्ञ डाक्टर हरूले सेवा दिएका थिए । बिहान ११ बजे देखि सुरु भएको शिविर बेलुका ४ बजे सम्म चलेको थियो ।
स्वास्थ्य शिविर अत्यन्तै व्यवस्थित र भव्य रहेको शिविरमा सेवा दिएका डाक्टर ललितकुमार बोहोराले आयोजक वीरता लेडी जेसीजलाई धन्यवाद दिएका छन् ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा अन्नपूर्ण स्कुलका व्यवस्थापन समिति अध्यक्ष तुलसीप्रसाद मैनालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका संस्थापक प्रशान्त न्यौपाने, कनकाई ८ वडा सदस्य रीता रोक्का, वीरता लेडी जेसीज संस्थापक अध्यक्ष शारदा रिजाललगायतले शिविरको औचित्य बारेमा आफ्नो धारणा राखेका थिए ।
औपचारिक कार्यक्रमको  सञ्चालन जेसीजकी महासचिव निशा शाक्यले गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर