Aamsanchar

रहेनन् अधिकारवादी नेता टेकनाथ बराल

Author Image
मङ्गलवार, भदौ १२, २०८०

कास्की – वामपन्थी एवम् मानव अधिकारवादी नेता टेकनाथ बरालको निधन भएको छ । आज मङ्गलवार दिउँसाे पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ८४ वर्षकाे उमेरमा उहाँकाे निधन भएको हो ।

उहाँकाे शव बेलुकी ५ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि घरमा राखिने र त्यसपछि शव यात्रासहित अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।

बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्याे । बरालकाे निधनले सम्पदा संरक्षणको आन्दोलन, मानव अधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाइ गर्ने एक अथक योद्धा गुमाएको राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनील पाण्डेले बताउनुभयाे ।

विसं १९९६ जेठ ५ गते पाेखराकाे नुवारथाेकमा जन्मिनुभएका बरालले इन्सेक मानव अधिकार वर्ष पुरुषकाे उपाधि पनि प्राप्त गर्नुभएकाे थियाे । २००७ सालमा राणाविराेधी आन्दाेलनमा लाग्नुभएका उहाँले कक्षा आठ पास गरेर गाेरखा र स्याङ्जामा केही समय पढाउनुभयाे ।

२०२१ सालमा टेलिफाेनकाे तार चाेरी भएकाे आराेपमा पक्राउ पुर्जी जारी भएपछि बनारस जानुभयाे । २०२२ सालमा बनारसबाट म्याट्रिक पास गर्नुभएका उहाँलाई त्यतै पुष्पलालले नेकपाकाे पार्टी सदस्यता दिनुभयाे ।उहाँ नेपाल फर्किएपछि नेकपाकाे काम गरेकाे आराेपमा २०२३ सालमा पञ्चहरूले गिरफ्तार गरेर दुई वर्ष जेलमा राखे । २०२५ सालमा जेलबाट रिहा हुनुभएका उहाँ पञ्चायतविरोधी गतिविधि गरेको भन्दै २०२९ सालमा देश निकाला हुनुभयाे । त्यसपछि २०३६ सालको आन्दोलनको समयमा नेपाल फर्किएर उहाँ बहुदलको पक्षमा सक्रिय हुनुभयाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)