Aamsanchar

भेडाको ऊनबाट राडीपाखी उत्पादन गर्ने महिलालाई चर्खा र कोरेसो

Author Image
बिहिवार, भदौ १४, २०८०

खोटाङ – रावाबेसी गाउँपालिकाले भेडाको ऊनबाट राडीपाखी उत्पादन गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यवसायमा सघाउ पुर्‍याउने उक्त सामग्री उपलब्ध गराएको हो ।

गत आर्थिक वर्ष विनियोजित पाँच लाख बजेटबाट ५० थान चर्खा (धागो कात्ने मेसिन) र एक सय ७० थान कोरेसो (ऊन छोड्याउने मेसिन) वितरण गरिएको गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङले बताइन् । पहिलो चरणमा बुधबार हौंचुरको पोखरी, फलाँटे र चाँपखर्क तथा कुभिन्डेको गोपीनीेका उद्यमी महिलाहरुलाई चर्खा र कोरेसो वितरण गरिएको गुरुङले सुनाइन् । अर्को चरणमा रावाबेसी गाउँपालिका–४ डुम्रोधारापानी र वडा नम्बर ५ दुवेकोलका उद्यमी महिलालाई वितरण गरिने गुरुङले जनाइन् ।

गुरुङ समुदायले भेडाको ऊनबाट राडी, जमट, चकटी, बुस्कोट, लुकुनी, घुमराडी, दोचालगायतका सामग्री निर्माण गर्दै आएका छन् । ‘राडीपाखी व्यवसायलाई थप सहयोग होस् भनेर चर्खा र कोरेसो दिइएको हो,’गुरुङले भनिन् ।

धागो कात्ने सामग्री (चर्खा) बनाउने सीपको अभावले कतिपय महिलाहरू पेसा नै छाड्नुपर्ने अवस्थामा पुगेको गुरुङको भनाईछ । गाउँपालिकाले दिएको कोरेसो प्रत्येक व्यवसायीलाई र चर्खा दुई तीन जनाले पालैपालो चलाउने गरी उपलब्ध गराइएको गुरुङले बताइन् । राडीपाखी उत्पादन गर्ने राई, भुजेल, मगर समुदायका महिलालाई समेत चर्खा र कोरेसो क्रमशः उपलब्ध गराउँदै लैजाने गुरुङको भनाइ छ । यसले उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको गुरुङले सुनाइन् ।

जिल्लाको रावाबेसी गाउँपालिकाको हौंचुर पोखरी, चापखर्क, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, जालपा, बुइपा, खार्मी, ऐसेलुखर्क गाउँपालिकाको दिम्मा, बादुङ, केपिलासगढी गाउँपालिकाको बाक्सिलालगायतका विभिन्न ठाउँका गुरुङ समुदायका महिलाहरूले पुस्तौंदेखि खाडीपाखी बुन्दै आएका छन् ।

यसबाहेक राई, भुजेल, मगर समुदायका महिलाहरुले पनि भेडाको ऊनबाट विभिन्न सामग्री उत्पादन गर्दै आएका छन् । जिल्लामा भेडाको ऊनबाट उत्पादित विभिन्न सामग्री गाउँ, बजार र शहरमा बिक्री हुने गरेको छ । पछिल्लो समय ऊनबाट उत्पादिन बुसकोट, घुमराडी, जमट, चकटीलगायतका सामग्रीको माग बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)