



झापा : झुटा विवरण पेस गरी गैह्र नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने झापाको भद्रपुरका एक पूर्व जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।
भद्रपुर नगरपालिका–९ का पूर्व वडा अध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो।
उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गते गरेको फैसला अनुसार तत्कालीन वडा अध्यक्ष रहेका राजवंशीलाई झुटा विवरण पेस गरी नागरिकता बनाई दिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए।

अदालतको फैसला आए पनि उनी फरार थिए। उनी हिजो पक्राउ परेको बताए। पक्राउ गरेर अदालतमा पेस गरेर फैसला कार्यान्वयन लागि कारागार चलान गरिएको पनि रिजालले जानकारी दिए।
राजवंशीले जानाजान रूपमा नक्कली कागजपत्र बनाएर जिल्ला प्रशासन कार्यालय झापाबाट विसं २०७३ देखि २०७६ सम्ममा १६ गैर नेपालीलाई नागरिकता दिन भूमिका खेलेको आरोप लागेको थियो।
त्यो समयमा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको पाइएको थियो।