

नेपालमा मानव बेचबिखन आज पनि एउटा विकराल समस्या नै हो । कुनै समय भारतका कोठीहरूमा बेचबिखन गरिएका नेपाली चेलीहरू आज विश्वभरि नै मानव तस्करहरूले वैदेशिक रोजगारीका नाममा बेचिरहेका छन् । चेली मात्र नभई जोखिमपूर्ण काम र मानव अङ्ग तस्करका लागि नेपाली पुरुषहरूको पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बेचबिखन भई नै रहेको छ । फरक स्वरूप र परिवेशमा मानव बेचबिखनका घटनाहरू झनै बढिरहेको छ । हुन त नेपालमा मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नहुँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रूपमा सफल हुन सकेको छैन । महिला बेचबिखन हुन नदिन तथा बेचबिखनमा परेको चेलीलाई उद्धार गर्न सरकारले आठ पुनर्स्थापना केन्द्रको स्थापना गरेको छ । तर यी केन्द्रको सञ्चालन र चेलीहरूको पनि यथोचित व्यवस्थापन हुन सकेको छैन । यी सबै कुराहरूलाई ध्यानमा राख्दै मानव बेचबिखन र ओसारपसार विरुद्ध पैरवी गर्न र जनचेतना फैलाउने अनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ नेपालमा सो दिवस मनाउन थालिएको हो ।

बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका सांसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि हरेक वर्षको भाद्र २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो ।

