Aamsanchar

विराटनगरमा राधाकृष्ण रथयात्रा

Author Image
बिहिवार, भदौ २१, २०८०

विराटनगर : विराटनगरको सांस्कृतिक पहिचान बनिसकेको राधाकृष्ण रथयात्राको ५५ औं संस्करण   आज आयोजना हुँदै छ। ५५ वर्षयता विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने चलन रहेको छ।

आयोजक समितिका अनुसार यसपटक विराटनगरकोराधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ।

रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको  आयोजक समितिले जनाएको छ।  यसका लागि सम्पुर्ण तयारी पूरा भइसकेको समेत उनीहरुको भनाइ छ।

विसं १९८८ मा खटयात्राबाट सुरु भएर २०२४ सालदेखि रथयात्रामा परिणत भएको यो धार्मिक उत्सवमा यसपटक नेपाल र भारतबाट श्रद्धालुहरुसहित विभिन्न नगरका मेयरहरु पनि सहभागी हुँदै छन्।

आकर्षक रूपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ।  विराटनगरको सांस्कृतिक र धार्मिक वैभव बनेको रथयात्रा भव्य तुल्याउन आयोजकले सबैमा अपिलसमेत गरेका छन्।

अत्यधिक जनसहभागिता हुने रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्धसमेत  गरिएको  छ।

सुरक्षामा समेत कडाइ

रथ यात्रामा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रहरी कार्यालय मोरङले  सुरक्षामा कडाइसमेत गरेका छन्। रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित हुने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले सर्वसाधारणलाई ११ बुँदे सुझाव दिँदै सूचनासमेत जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले एक सूचना जारी गर्दै राधाकृष्ण रथयात्रामा लाखौंको संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्ने जनाएको छ।

यस्तै, रथयात्राका क्रममा भागदौड मच्चिई मानवीय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, वृद्ध वृद्धाहरू घाइते हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले ११ बुँदे सूचना जारी गरेको हो।

प्रहरीले प्रभावकारी सुरक्षा व्यवस्थाको लागि भन्दै बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग राधाकृष्ण मन्दिर तिनपैनी चोक–ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक–दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिर र समारोहस्थल वरपर सवारीसाधन पार्किङ नगर्न आग्रह गरेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर