



झापा -भद्रपुर नगरपालिकाले दुई साताअघि झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व ग्रहणका लागि अपिल गरेको छ । नगरपालिकाले सोमबार सूचना जारी गर्दै नवजात शिशु (छोरा)को वैकल्पिक हेरचाहका लागि इच्छुक व्यक्ति तथा संस्थाले सात दिनभित्र सूचिकृत हुन आउन आग्रह गरेको छ ।
गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका– ७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा अन्दाजी १२ देखि १४ दिनको शिशु बेवारिसे अवस्थामा फेला परेको थियो ।
त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा लगेका थिए । रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्णरुपमा स्वास्थ्य रहेको शिशुको हकदाबीका लागि नगरपालिकाले भदौ १५ गते सात दिने र भदौ २२ गते तीन दिने सूचना निकालेको थियो।

सो अवधिभित्र कोही पनि शिशु आफ्नो हो भनी हकदाबीका लागि नगरपालिका आएन । त्यसपछि नगरपालिकाले बालकको पालनपोषण स्वास्थ्य उपचार, शिक्षा तथा बालकको हेरचाह गर्न चाहनेले निवेदन दिन अपिल गरेको हो।
बालकको आमा वा बुबा तर्फका नातेदार,बालकलाई हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति, बालकलाई परिवारमा आधारित हेरचाह गर्ने संस्था वा बालगृह समेतले तोकिएको प्रमाण कागज संलग्न राखी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ४९ (२) र नियमावली २०७८ को नियम ५३ (५) बमोजिम ७ (सात) दिन भित्र तपसिल बमोजिमको कागज प्रमाणसहित निवेदन पेस गर्न भनिएको छ।
नगरपालिकाकी उपप्रमुख राधा कार्कीले भनिन्, ‘सूचिकृत हुनेहरू मध्येबाट सबै प्रक्रिया पूरा गरी छनौटमा परेकालाई मात्र शिशुलाई जिम्मा लगाइनेछ।’
शिशु भेटिएदेखि नै शिशुलाई धर्मपुत्र बनाउने करिब एक सय बढी इच्छुक व्यक्तिहरू सम्पर्कमा आइसकेको बुझिएको छ । इच्छुकहरूमध्ये डाक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायीलगायत रहेका छन् । हाल शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरको पोषण पुनर्स्थापन गृहमा राखिएको छ ।