Aamsanchar

राजनीतिमा वीरता लेडी जेसीजको चासो, ‘राजनीतिमा महिला सहभागिता– चुनौती र सम्भावना’ विषयमा भयो अन्तरक्रिया

Author Image
सोमवार, भदौ २५, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले सार्वजनिक रुपमा राजनीति प्रति चासो राखेको छ । आज सोमबार बिर्तामोडमा ‘राजनीतिमा महिला सहभागिता– चुनौती र सम्भावना’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर वीरता लेडी जेसीजले राजनीति प्रति चासो देखाएको हो ।

महिला त्यसमा पनि जेसीज महिलाहरूले अब राजनीति क्षेत्रमा नेतृत्व सहित बलियो उपस्थिति जनाउनु पर्ने कार्यक्रमका ५ जना महिला वक्ताहरूले धारणा राखेका थिए । सामाजिक, राजनीति क्षेत्रको नेतृत्व तहमा महिलाहरूको उपस्थिति अत्यन्तै न्यून रहेको, संविधानमा महिला आरक्षण सुनिश्चित भएको भएपनि राजनीति दलका कतिपय पुरुषवादहरूले महिलाहरूलाई अघि बढ्न नदिन विभिन्न व्यवधान खडा गर्ने जस्ता विविध विषयहरूमा महिला वक्ताहरूले  धारणा राखेका छन् ।

नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य तथा कोशी प्रदेश पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर ।

‘चुनौती सहित राजनीतिमा महिलाको प्रवेश भएको हुन्छ । नालापानीको लडाइमा कयौं महिलाहरूले खुँडा बोकेर लडाइ लडेको इतिहास हामिले कहाँ पढेका छौं ? राष्ट्रिय स्वाधीनताको लागि राणाशासक कालमा राणाहरूको अत्याचारको विरोध गर्दा जेल परेका योद्धाहरूको सूचना बाहिर ल्याउने सफाइको काम गर्ने राममाया पोडेको बारेमा किन इतिहास बनेन ? पञ्चायतकाल, बहुदलीय व्यवस्था ल्याउनको लागि भूमिका खेल्ने आमा दिदीबहिनीहरूका इतिहास गायब गरिएको छ ?  गणतन्त्र सम्म आउँदा वीरंगत महिला दिदीबहिनीहरूको योगदानको इतिहास बाहिर आउन नसक्नु यो महिलाहरूको निम्ति चुनौती रहेको  र अब महिलाहरूको योगदानमा आधारित मुल्याङकन हुनु पर्ने’ अन्तरक्रियाकी वक्ता नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य तथा कोशी प्रदेश पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले यस्तो धारणा राखेकी थिइन ।

कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटी ।

कार्यक्रममा वक्ता कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटीले अहिलेको राजनीति परिवेशले गर्दा निरास भएर पढेलेखेका, राजनीति बुझ्ने युवतीहरू अवसर र सम्भावनाको खोजीको क्रममा विदेश पलायन हुने क्रम बढ्दो छ । यस्तै क्रम रहिरहने हो भने आगामी दिनमा संविधानले उपलब्ध गराएको महिला अधिकार प्रयोग गर्ने, नेतृत्वदायी भूमिका गर्न योग्य महिलाहरू नै नेपालमा नरहने अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन । उनले थप्दै भनिन ‘महिलाहरू कमजोर भएर समस्याबाट भाग्ने होइन, समस्यालाई चिर्दै अवसरको बाटो पहिचान गर्नु पर्ने हुन्छ र आफू पहिला शिक्षक हुँदा भोगेको विभेद र उपेक्षाको कारण पनि आफू राजनीतिमा होमिएको र अहिले देश र समाजको लागि केही गर्न पाएकोको आफू खुशी रहेको छु ।’

अर्जुनधारा नगरपालिका उपप्रमुख खड्गमाया पराजुली ।

त्यसैगरी वक्ता तथा अर्जुनधारा नगरपालिका उपप्रमुख खड्गमाया पराजुलीले आफू १२ वर्ष देखि राजनीतिमा सक्रिय बन्दै आएको र आफूसँग क्षमता हुदाँ पनि यस अवधीमा आफू महिला भएकै कारणले धेरै सामाजिक संघसंस्था हरु पुरुष भन्दा तलकै पदमा बस्नु पर्ने अवस्था रहेको र त्यस्तै कार्यक्रममा उप बनेर स्वागत मन्तव्य मात्र राख्नु पर्ने अवस्था भन्दा माथि उठेर महिलाहरूले नेतृत्वमा पुग्नु पर्ने तर महिलाहरूको लागि सामाजिक, राजनीतिमा लाग्नको लागि आर्थिक बाटो बाधक बन्ने गरेको दुखेको पोखेकी छन् । उनले भनिन ‘राजनीतिमा अघि वढदा विभिन्न आरोपहरू खेप्नु पर्ने, विभिन्न कार्यक्रमहरूमा जादा खर्च हुन्छ सो खर्च परिवारबाट उपलब्ध नहुने भइहाले पनि खुला मनले नदिने हुँदा महिलाहरू उत्साहजनक रुपमा राजनीति क्षेत्रमा जान सक्ने अवस्था नरहेको हुँदा आफै आर्थिक रुपमा सबल बनेर महिलाहरू राजनीतिमा जाँदा अघि बढ्न सजिलो हुन्छ ।’

नेपाल महिला संघ केन्द्रिय सदस्य उमा शिवाकोटी ।

महिलाहरूले पहिले देखिनै राजनीति क्षेत्रमा पहुँच राखेका थिए । नेपालमा महिलाहरूले मताधिकार प्राप्त गर्दा एशियाका अरु देशका महिलाहरूले यस्तो अवसर प्राप्त गरेका थिएनन् । २०१५ सालमा १ जना महिलालाई सांसदको टिकट दिइएको थियो । पहिलो निर्वाचित महिला सांसद भनेर द्वारीका देवी ठकुरानीको नाम आउँछ । त्यो वेला चुनावमा उम्मेदवारी दिएको बेला लैंगिक हिंसा गरेर प्रतिपक्षका हरूले पेटिकोट लाई भोट नदिउ भनेर विरोध गरेका थिए तर त्यो वेला हक्की स्वभावकी ठकुरानीले तपाईंहरू पनि त्यही पेटीकोट लगाउने हरुबाटै जन्मिनु भएको हो भनेर राजनीतिमा बुलन्द आवाज निकालेर पनि चुनाव जितेको इतिहास रहेको छ । अहिले हामी महिलाहरूले पनि संविधानले दिएको हक अधिकारलाई प्रयोग गर्दै डटेर राजनीति गर्नुपर्ने वक्ता तथा नेपाल महिला संघ केन्द्रिय सदस्य उमा शिवाकोटीको धाराणा रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समिति अध्यक्ष रञ्जु प्याकुरेल ।

त्यस्तै व्यवहारिक रुपमा महिलाहरूलाई राजनीति क्षेत्रमा टिक्न र सफलता प्राप्त गर्न निक्कै कठिनाइहरू रहने गरेको छ, महिलाहरू आफैमा पनि प्राकृतिक रुपमा कोमल हुनेगरेकोले पुरुषको तुलनामा महिलाहरूलाई नेतृत्व तहमा पुग्न कठिनाइ हुने गरेको छ, महिला कम्जोर हुनु नहुने र पुरुषले हेपेको खण्डमा महिलाहरू तानाशाह बन्न सक्नु पर्छ, महिलाहरूलाई आधा आकास ढाक्ने भनिएको छ,  अब महिलाहरूले आधा धर्ती माग गर्नु पर्छ, पहिलालाई आरक्षण दिएको छ तर चुनावमा पुरुष सँग भिडाएर महिलालाई हराइन्छ, अब महिलाहरूका लागि विशेष निर्वाचन क्षेत्र घोषणा गरिनु पर्छ, उक्त क्षेत्रमा हरेक दलबाट महिलाहरूको मात्र उम्मेदवारी हुनु पर्ने, जनताले पनि महिलाहरूलाई नपत्याई नरहेको अवस्था रहेको वक्ता राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समिति अध्यक्ष रञ्जु प्याकुरेलको भनाई छ ।

युवाहरूको नेतृत्व र व्यक्तित्वको विकास गरेर समाज र राष्ट्रको लागि नेता तयार पार्ने संस्थाको रुपमा चिनिएको जेसीजले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरूको तर्फबाट न्युनिता दवाडी, लिला अनमोल, मिनु ओली, झुमा भट्टराई, राधा सुब्बालगायतले वक्ताहरु प्रति जिज्ञासा तथा प्रश्नहरू राखेका थिए ।

वीरता लेडी जेसीजले सप्ताह कार्यक्रम अन्तरगत आयोजना गरेको छैटौँ कार्यक्रम  ‘राजनीतिमा महिला सहभागिता– चुनौती र सम्भावना’ अन्तरक्रिया वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षता र बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईँको प्रमुख आतिथ्यमा आयोजना भएको थियो ।

कार्यक्रममा लेडी जेसीज कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सुमित्रा भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन भने सप्ताह कार्यक्रम मूल संयोजक एवम् निवर्तमान अध्यक्ष संगीता चिमरियाले  कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन ।
प्रमुख अतिथि पवित्रा महतरा प्रसाईँ, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाललगायतले उद्घाटन सत्रमा शुभकामना राखेका थिए ।

वीरता लेडी जेसीजले  सप्ताह कार्यक्रम अनुसार सातौँ कार्यक्रम समापन कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष सिनेटर विकास मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्षहरू स्वस्तिका आचार्य, वीरु वेघा र भिमकुमार कुँवरको पनि आतिथ्यता रहेको थियो ।

दुवै कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन । आजै तिज मिलन कार्यक्रम पनि आयोजना गरिएको अध्यक्ष संगीता गिरीले जानकारी दिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर