Aamsanchar

आकस्मिक बाहेक देशभरका स्वास्थ्य संस्थाहरूमा सम्पूर्ण सेवाहरू बन्द

Author Image
आइतवार, भदौ ३१, २०८०

काठमाडौं । नेपाल चिकित्सक संघको निर्णय अनुुसार आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द भएको छ ।
गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डाक्टर प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूले कुटपिट गरेको विरोधमा संघले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सेवा ठप्प पारेको हो ।

नेपाल चिकित्सक संघले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको थियो ।

कुटपिटमा संलग्न दोषीहरूलाई कानुनी दायरामा नल्याएको भन्दै संघले आइतबारदेखि आन्दोलनको घोषणा गरेको हो ।

‘आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द हुुने,’ संघले शनिबार साँझ विज्ञप्ति निकालेर जानकारी गराएको थियो ।

संघले हेटौंडा अस्पतालमा भएको घटनामा संलग्न सबै दोषीहरूको छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता गर्न माग गरेको छ ।

यस्तै स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउन पनि माग गरेको छ ।

हेटौंडामा भएको घटनापछि दोषीलाई पक्राउ गरी कानुनी कारबाहीमा ल्याउनु सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनेर घटनालाई निस्तेज पार्न खोजेको भन्दै सम्बन्धित निकायमाथि पनि छानबिन गर्न संघले माग गरेको छ ।

सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न शुक्रबार तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सञ्चो अस्पतालका चिकित्सकद्वय डाक्टर विकास थापा र डाक्टर प्रशान्त विडारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न सो अदालतबाट म्याद थप गरिएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर