Aamsanchar

झापामा माेटरसाइकल चोरी गर्ने भारतीय नागरिकसहित दुई जनालाई स्थानीयले समाते

Author Image
सोमवार, असोज १५, २०८०

झापा – मोटरसाइकल चोरी गरेको आरोपमा एक भारतीयसहित दुई युवकलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ । मे ११ प ४३०७ नम्बरको सेतो कालो रङको एफजेट मोटरसाइकल चोरी गरेको आरोपमा भद्रपुर नगरपालिका– ४ स्थित तारानगरका स्थानीयले सोमबार बिहान ७: १५ बजेतिर ती युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा साबिक चकचकी– ८ हाल बाह्रदशी गाउँपालिका– २ निवासी ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासा निवासी २९ वर्षीय मोहम्मद जुबेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

ती युवकहरूले सडकमा मोटरसाइकल डोराउँदै लगिरहेका थिए । स्थानीय उपेन्द्रनाथ पौडेलले मोटरसाइकल किन डोराएको भन्दै उनीहरूसँग सोधपुछ गरेका थिए । प्रतिउत्तरमा उनीहरूले पेट्रोल सकिएको र सर्भिसिङ गर्नुपर्ने भएकाले मोटरसाइकल बन्द भएर डोराउनु परेको जवाफ फर्काएका थिए ।

‘उनीहरूले ग्यारेजमा लानुपर्ने मोटरसाइकल मेची नदीतर्फ लैजान खोजेपछि शङ्का उत्पन्न भयो,’स्थानीय पौडेलले भने, ‘त्यसपछि स्थानीय युवाहरूले दुवैजनालाई समातेर प्रहरीलाई जिम्मा लगायो ।’ पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको डीएसपी रिजालको भनाइ छ ।

नियन्त्रणमा लिएको मोटरसाइकल इलाम जिल्ला देउमाई नगरपालिका–३ बस्ने तारा कुमार राईको छोरा निश्चल राईको रहेको खुलेको छ । निश्चल हाल बिर्तामोड नगरपालिका–४ मेघावारिमा डेरा गरी बस्दै आएका छन् । उनकै कोठाबाट सोमबार बिहान ४ बजे मोटरसाइकल चोरी भएको थियो ।

-अन्नपूर्ण

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर