




कास्की – अपायक ठाउँमा नियुक्ति दिएको भन्दै आमरण अनसनमा बस्नुभएकी पोखराकी दृष्टिविहीन शिक्षिका शोभा पौडेलले अनसन तोड्नुभएको छ । पायक ठाउँमा नियुक्ति गर्ने सहमतिपछि हिजो उहाँले तीन दिनदेखिको अनसन तोड्नुभएको हो ।
शिक्षा इकाई कार्यालय, शिक्षक सङ्गठनहरु र पोखरा महानगरपालिका शिक्षा महाशाखाले पौडेलसँग कास्कीको मादी गाउँपालिकाको ध्रुव माविमा सरुवा गर्ने सहमति गरेका हुन् । उहाँ आइतवारदेखि पोखरा-१ बगरमा रहेको शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीको परिसरमा अनसनमा बस्नुभएको थियो ।
लमजुङको दोर्जी गाउँपालिकाको बालकल्याण माविमा नियुक्ति रहेको तर दृष्टिविहीन भएका कारण विद्यालय जान आउन निक्कै समस्या भएको भन्दै उहाँले अनसन शुरु गर्नुभएको थियो । उहाँले पायक विद्यालयमा नियुक्ति र हाजिर गराइ स्थायी रोजगारीको सुनिश्चित हुनुपर्ने माग राख्नुभएको थियो ।
उहाँले गएको वर्ष शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकाल्नु भएको हो ।