Aamsanchar

एसियाली पारा खेलकुदमा पलेशा गोवर्द्धनलाई ऐतिहासिक पदक

Author Image
शनिवार, कार्तिक ११, २०८०

काठमाडौं – पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी छन्। चीनको हाङचाओमा भएको एसियाली पारा खेलकुदमा पलेशाले महिला के–४४ विधाअन्तर्गत ५७ केजीमुनिको तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी हुन्।

पलेशाले एसियाली पारा खेलकुदमा जितेको कांस्य पदक उनको मात्र नभई नेपालकै लागि पनि अहिलेसम्मकै पहिलो र एक मात्र पदक हो। नेपालले एसियाली पारा खेलकुदमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि पदक भने जित्न सकेको थिएन। पहिलो संस्करण चीनको ग्वाङझावमा सन् २०१० मा भएको थियो। तेक्वान्दो भने यसै ९चौथो० संस्करणदेखि मात्र समावेश गरिएको हो ।

क्वार्टरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई १४–१ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन्। सेमिफाइनलमा भने पलेशा काजकिस्तानकी कामिल्यादा स्मोलोभासँग १६–१० ले चुकेकी थिइन्। सेमिफाइनलमा पराजित भए पनि पलेशाले रिपेचेज चरणमा खेल्न पाउने अवसर थियो। रिपेचेज चरणको पहिलो कांस्य पदक भिडन्तमा पलेशाले बाइ पाएपछि कांस्य पदक निश्चित भएको हो।

पलेशाले सन् २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन्। सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारालिम्पिक मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन्। त्यसबेला पलेशाले रिपेचेजमा अमेरिकाकी ब्रिएना सलिनारोलाई १०–० तथा सर्बियाकी मारिजा मिसेभलाई २३–१५ ले हराउँदै चीनकी युजी लिँंग कांस्य पदक भिडन्त पक्का गरेकी थिइन्। कांस्य पदक भिडन्तमा पलेशा १२–९ ले चुकेपछि पाँचौं भएकी थिइन्। पलेशाले सन् २०१८ मा काठमाडौंमा भएको दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यु’अन्तर्राष्ट्रिय प्रतियोगिता २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप हो। त्यसमा उनी पाँचौं भएकी थिइन् ।

काठमाडौं महानगरपालिका–२८, बागबजार निवासी पलेशाले सन् २०१७ मा बेलायतमा भएको विश्व पारा तेक्वान्दो, जोर्डनमा सन् २०१९ मा भएको पाँचौं एसियाली पारा खुला तेक्वान्दो र सन् २०१९ मै टोकियो पारालिम्पिक गेम्सको टेस्ट इभेन्टमा पाँचौं स्थान हासिल गरेकी थिइन्। सन् २०१९ मा टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा नवौं भएकी पलेशाले साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन्। नेपाली पारा तेक्वान्दोमा सफल प्रशिक्षक मानिने कविराज नेगी लामा एक्लैले सन् २०१८ देखि पलेशालाई प्रशिक्षण दिँदै आएका छन्।

हाचाओमै सम्पन्न १९औं एसियाली खेलकुदमा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो। एरिका गुरुङले करातेमा रजत तथा महिला कबड्डी टिमले कांस्य पदक जितेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर