Aamsanchar

मैले नसोचेको इलाम (यात्रा संस्मरण)

Author Image
बिहिवार, कार्तिक १६, २०८०


यात्रा भन्ने साथ मलाई मनैबाट उत्साह जागेर आउने गर्दछ । अनि नयाँ ठाउँको भ्रमण गर्न जहिले पनि उद्धत हुनु मेरो लागि खुसीको क्षण बन्ने गर्दछ । वास्तवमा जीवन एक यात्रा नै त हो । प्रत्येक क्षण अनि पल मानिसले जीवन रूपी यात्रा तय गर्न अपरिहार्य नै छ । यसै सेरोफेरोमा दशैँको तेस्रो दिन अर्थात गत कार्तिक ९ गते हामी चार भाइ आमसञ्चार डटकमका समाचार प्रमुख बिनोद पाण्डे सर, बजार प्रतिनिधि विकास उप्रेती अनि अतिनै हसिलो सञ्चारकर्मी सरोज पौडेलका साथमा मैले तिन दिवसीय यात्रामा अघि बढ्ने जमर्को गरे । शनिश्चरेको सालबारी मा भेला भई आफ्नै सवारी साधन मोटरसाइकलबाट यात्रा अघि बढाउने सिलसिला आरम्भ भयो । बिहानको चिया नास्ता पछि आरम्भ भएको यात्राको गति सँगै बुधबारे बजारमा पुगी सवारी साधनको बाटो खर्च (पेट्रोल) जोहो गरी हामी चार भाइ छिमेकी जिल्ला इलामको कन्याम पुगेर केही क्षणको दृश्य अवलोकन गरी फिक्कल हुँदै पूर्वी नाका पशुपतिनगर पुगेर त्यहाँको जनजिवनको सूक्ष्म अध्ययन गर्ने अवसर प्राप्त भयो ।

दशैँको चहलपहलले होला, मानिसहरूको भिडभाड राम्रो भएको अवस्था थियो । सायद दशैँको समय विभिन्न भूभागबाट आउनुभएका आन्तरिक अनि वाह्य पर्यटक पशुपतिनगरमा बाक्लो उपस्थिति रहेको थियो । केही क्षण को छोटो थकाई मार्ने क्रममा नेपाल भारत सीमाको गतिविधि हेर्दा छिमेकी (भारतीय) हरूको छेउमा हामी निरिह भएको महसुस भयो । यदि हाम्रा राज नेताहरू छिमेकीको कृपा बेगर वाचेका भए हाम्रो स्वाभिमान उच्च हुने थियो होला । हरेक सार्वभौम मुलुकका नागरिक सरह उच्च शिरका साथ हाम्रो उपस्थिति सिमा क्षेत्रमा हुने थियो होला । छिमेकीका तलुवा चाट्ने हाम्रा नेताहरूका व्यवहारले गर्दा हामी स्वतन्त्र नागरिक नरहेको पीडाले हामी यात्राका सम्पूर्ण सहभागी मित्रहरूलाई दुखी बनायो । भारतीय प्रहरीको हैकम आवसेक भन्दा धेरै थियो ।

पशुपतिनगरको दृश्य अवलोकन पश्चात हामी इलामको नयाँ बजार तिर हुइँकियौँ । नयाँ बजारमा खाना खाए पश्चात पूर्वी उत्तरी दिशा गन्तव्य जौबारी बनाइ कष्टकर यात्रा अगाडि बढ्दै गयौं । यधपी कच्ची सडक, उकालो बाटो, पार गर्दै बेलुकी करिब ६ बजेर ३० मिनेटमा हामी जौबारी भन्ने ठाउँमा बास बस्न पुग्यौं । यात्राका दौरान विभिन्न मनमोहक दृश्य, लोभलाग्दो भन्ज्याङ, अनि ढकमक्क फुलेका सयपत्री फूल हरूलाई छोड्दै कतै ढुङ्गा, बिछाएको बाटो त कतै खाल्टाखुल्टी पार गर्दै कठिन युक्त यात्रा अघि बढेको थियो । साँच्चै नै यात्रामा चुनौती त छँदै न थियो तथापि रमणीय प्राकृतिक दृश्यले हामीलाई मलम पट्टी लगाए झैँ शीतलता प्राप्त भइ नै रह्यो ।

हामी चार भाइ भिन्न स्वभाव भएता पनि यात्रा अबधीमा स्वभावमा एकरूपता झैँ लाग्थ्यो । सबैको एकमत भइहाल्थ्यो । आनाकानी, असहमति भन्ने कति पनि आभाष भएन एक अर्कामा जसको कारण चुनौती का बिचमा पनि रमाइलो पल रही रह्यो हामी बिच । भोलिपल्ट बिहान सबेरै उठी दिनभरिका थकानलाई चिसो रातले बिर्साइ दिइसकेको थियो । चरा चराचुरुङ्गीको चाचरचुचुर, भालेको कुखुरी का आवाज सुन्दै र सूर्योदय को मनमोहक दृश्यले अघिल्ला दिनका सम्पूर्ण पीडा भुलाइ नयाँ उर्जा प्रदान गरिसकेको अवस्था थियो । हाम्रो बसाइ जौबारी भएता पनि, जौ खेती राम्रै होला भन्ने मनमा जिज्ञासा थियो नै । तर त्यहाँका स्थानीय पर्यटन व्यवसायीका अनुसार जौ खेती नदेखेको दुई दशक भईसको जानकारी भयो । यात्रामा विकास उप्रेती रमाइलो गर्न अग्रपङ्तिमा थिए । उनी राम्रा स्थान आउना साथ रमाइला भिडियो खिची हाल्ने अनि वढी भन्दा वढी टिकटका भिडियो बनाउन व्यस्त हुन्थे । उता हसिलो स्वभावका सञ्चारकर्मी सरोज जी, यात्रा भिडियो बनाउन माहिर थिए । बिनोद सरको स्वभाव भने बिल्कुल फरक थियो । नेपाल फोटो पत्रकार महासंघ झापाका निवर्तमान अध्यक्ष भएको व्यक्ति हुनाले राम्रा दृश्यले उहाँलाई तानिरहेको पाउथेँ । आफ्ना व्यावसायिक क्यामेरामा दृश्यहरूलाई सुटुक्क कैद गर्न खप्पिस अनि फरक फरक ढंगले फोटोग्राफी लिने कलाका पोख्त बिनोद सर आफ्ना व्यक्तिगत तस्बिर भन्दा प्रकृतिले दिएको उपहार दृश्यहरू वढी संकलन गर्नु हुन्थ्यो ।

मुस्कुराउनु, हाँस्नु अनि यात्रा गर्नु हाम्रो मुख्य साझा अवधारणा भएकोले नै राम्रो समझदारी का साथ दोस्रो दिनको यात्रा जौबारी वाट तुम्लिङ तर्फ अघि वढदै गयो । करिब १५ मिनेट अघि बढिसकेपछि जौबारी र तुम्लिङ को बिचमा कृषि मन्त्रालयको कृषिबाली अनुसन्धान को कार्यालय रहेको रहेछ । कृषिको कुनै वाली, उपज नभएको ठाउँमा उक्त कार्यालय (अनुसन्धान केन्द्र)ले आफैलाई गिज्याइ रहेको भान हुन्थ्यो । जे होस हाम्रो सरकार को मूल्याङ्कन गर्ने गुण चाँहि मान्नै पर्ने हुन्छ । यस्ता विडम्बना लाई दुःखका साथ आत्मसाथ गर्दै हामी तुम्लिङ पुग्यौ । करिव १ घन्टा त्यहाँको प्राकृतिक सुन्दरतामा भुलिन पाउँदा आफूहरू स्वर्गको कुनै एक कुनामा अदभूत आनन्दमयी क्षणमा हराएझैँ आफैलाई बिर्सिदिएका थियौ । तुम्लिङको सिमाना मा इलाम र भारतको दार्जिलिङ को दशगजा भित्र फोटो खिच्न प्रतिष्पर्धा नै रह्यो, केही समयको लागी लाग्छ, त्यहाँको प्रत्यय क्षणहरूलाई आफ्ना मोबाइल अनि क्यामेरामा कैद गरिहालूँ नत्र उम्केला की भन्ने डर जस्तो ।

म आफै कञ्चनजंगा हिमालको काखमा जन्मेको अनि एसएलसी पश्चात झापा बसाइ सरी आईए अध्ययन पश्चात करिब ३० वर्ष राजधानीमा बसोवास, अध्ययन, रोजगारी गर्दै हराइरहेको अवस्था थियो । यस यात्राले आफ्नो प्यारो हिमाल, फेरी तिन दशक पश्चात नजिक बाट देख्न पाउँदा बिहे गरेर धेरै वर्ष पछि माइत आएकी चेली झैँ अनुभव भएको थियो । पारी पटी दार्जिलिङ तिर यात्रा अत्यन्त सुलभ, अनि सहज भएता पनि यता हाम्रो भूमि अतिनै मनमोहनको बावजुद आफूलाई विकासको तृष्णाले कुरी रहेको भान हुन्थ्यो । सन्दकपुर सूर्योदय दृष्य हेर्न प्रसिद्ध ठाउँ भएता पनि नेपाल भूमिबाट यात्रा प्राय कष्टकर नै थियो भने भारतीय भूमिबाट सहज छ ।
आफ्नै कर्मलाई दोष दिदै लोभलाग्दो डाँडा, भीर अनि भन्ज्याङहरूलाई अवलोकन गर्दै यात्रा इलाम बजार तर्फ अघि बढिरह्यो । करिब दिउँसो को ३ बजे इलाम शहर को दृश्य अवलोकन पश्चात विना योजना हामी चारभाइ फिदिम वजार तिर बरालिन पुग्यौं । करिब ३ घन्टाको ड्राइभ पश्चात साँझ सात वजे पाँचथरको फिदिम बजार पुगियो ।

‘यात्रा धेरै, चिन्ता’ कम’
‘यात्रा धेरै, चिन्ता कम’ भन्ने अवधारणाले हामीलाई मार्ग दर्शन गरिरहेको थियो । अनि विना योजना को यात्रा पनि एक भिन्नै आनन्द महसुस भएको थियो । रातको समयमा डाडाँबाट फिदिम झलमल्ल बिजुली बत्तीमा चम्किएको दृष्यले सारै हर्षित बनायो, यो बेला कुलमान घिसिङलाई सम्झिएर मनमनै धन्यवाद दिए, यस उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुनु अगाडि देशमा दैनिक १८ घण्टा लोड सेटिङ थियो । फिदिममा होटल आदर्श सरगमको कोठा नं. १०१ को शयन गराई बढो आनन्दमय रहेको थियो । बिहान सबेरै उठी नित्यकर्म पश्चात करिब ८ बजे फिदिमको सानो तर, नेपालका वरिष्ठ साहित्यकारहरूको वरवर पर्खाल मा सजाइएको “हाम्रो कवि कुना“ चिया पसलमा फिदिमका सञ्चारकर्मी लक्ष्मी गौतम, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटा अनि केही साहित्यिक व्यक्तिका बिच चिया गफ र जमघट पश्चात हाम्रो यात्रा झापा तर्फ नै मोडियो । ताप्लेजुङ सम्म जाने चाहना समय अभावका कारण पुरा हुन सकेन सो दिन ।

फर्किने क्रममा पाँचथरको राके भन्ने ठाउँ अतिनै चिसो वजार आई पुग्यौं, त्यस पछि पाँचथरकै सबै भन्दा पुरानो वजार रवि तर्फ यात्रा मोडियो, अहिंसाको सन्देश प्रवाह गर्दै आएको एक ऐतिहासिक ठाउँ लारुम्बा जहाँ सयौँ घर परिवारका मानिसहरू शाकाहारी भएको स्थल रहेछ । पवित्र धर्म स्थल अवलोकन गर्दै आफ्ना निजी बासस्थान तर्फ अघि बढ्दै गयौँ । म आफै पनि शाकाहारी भएको नाताले लारुम्बाले आफूलाई मन्त्रमुग्घ बनायो नै । यधपी हाम्रो टोली निकै ढिलो लारुम्बा आइपुगेकोले धेरै समय व्यतीत गर्ने अवसर मिलेन । इलाम को शुक्रबारे दानावारी मा मेरो कान्छी वाहिनी को घरमा करिव १५ मिनेटको छोटो भेटघाट पश्चात सुखानी जङ्गलको बाटो हुँदै आफ्ना निवास आइपुग्नका लागि अलि गति बढाउँदै गयौँ । हाल दानावारी वाट शनिश्चरे बिर्तामोड यात्रा धेरै सहज भएता पनि सुखानीको अन्धकार जङ्गलको बिचमा शहीद को शालीक देख्दा मलाई आफ्नो हृदयको भित्रिकुनामा पीडा बोध भयो । देश, अनि जनताको भविष्य निर्माण गर्न निस्वार्थ भावले अघि बढदा आफ्नो अमूल्य जीवन सहादत भएका शहीदहरूले उनका सहयात्री हरूलाई हेरिरहेको भान भयो । जसको बलिदानी ले व्यवस्था ढल्यो, शहीदहरुका सहयात्री पटक पटक मन्त्री, प्रधानमन्त्री बने । उनको अवस्था फेरियो तर जनताको फेरिएन । धन्य छ ति शहीद हरूलाई । आफ्ना मित्रहरूको अवस्था फेरिदिएको मा ।

हो यात्रा पक्कै पनि जटिल हुन्छ नै । तथापि घरमा नजरबन्दी भएर बस्तैमा सम्भव हुँदैन । विनोद सरको भनाइलाई सापटी लिएर भन्नु पर्दा “घर भनेको ओत लाग्ने ठाउँ हो, पिँजडा होइन । यदि पिँजडा नै हो भने अरुले बन्धक बनाएको प्राणी चै होइन मानिस ।’ अर्थात केही क्षण भएपनि हामीले हाम्रा नजिकका स्थानहरू भ्रमण गरि आन्तरिक पर्यटन प्रर्वद्धन गर्न जरुरी छ । पहिला हाम्रा देशका रमणीय ठाउँ भ्रमण गरे पश्चात मात्र विदेश भ्रमण गर्नु उत्तम हुनेछ । वास्तवमा भन्ने हो भने जीवनको यात्रा अझै धेरै लामो छ गन्तव्य पुरा होला या नहोला तरपनि यात्रा निरन्तर जारी रहनु पर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर