Aamsanchar

हत्याको योजना बनाइरहेका पाँचजनालाई प्रहरीले पेस्तोलसहित समात्याे

Author Image
बिहिवार, कार्तिक २३, २०८०

वीरगन्ज – बारामा व्यक्ति हत्याको योजना बनाउँदै गरेका पाँचजना पेस्तोलसहिलाई प्रहरीले पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका -११ भगवानपुरस्थित एक घरमा बिहीबार बिहान बसेर व्यक्ति हत्याको योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका -११ भगवानपुरका ६२ वर्षीय रुपलाल पटेलका ,उनका छोराहरु ४० वर्षीय उपेन्द्र पटेल र २७ वर्षीय धिरेन्द्र पटेल,उपेन्द्रका साला रौतहटको बौधीमाई नगरपालिका-२ का ४४ वर्षीय राजमंगल पटेल र ससुरा ८० वर्षीय सोभा राउत रहेका छन् ।

उनीहरुको साथबाट अत्याधुनिक रिभाल्वर १ थान, त्यसमा लाग्ने गोली ७ राउण्ड, नलकटुवा पेस्तोल १ थान , त्यसमा लाग्ने गोली १ राउण्ड र केएफ १२ लेखिएको गोली २ राउण्ड बरामद गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार उपेन्द्रले गाउँकै एक व्यक्तिको गोली हानेर हत्या गर्नका लागि बिहीबार बिहान आफ्नै घरमा केहि मान्छे बोलाएर योजना बनाइरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

त्यहि सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक रविभुषण यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उपेन्द्रको घरमा बिहीबार बिहान ८ बजेतिर छापा मारेको थियो । त्यसक्रममा उपेन्द्रको घरभित्र हत्याको योजना बनाएर बसेकै अवस्थामा उपेन्द्रसहित पाँचजना पक्राउ परेका हुन् ।

उपेन्द्रको घरबाट कालो रंगको प्लाष्टिकको झोलाभित्र सेतो कपडाले बेरेर राखिएको अवस्थामा ती हतियार र गोली बरामद पनि भएको प्रहरी उपरीक्षक काफलेले बताए । हतियार र गोलीसहित फक्राउ पाँचैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर