Aamsanchar

छ सयभन्दा धेरै कुकुरको बन्ध्याकरण

Author Image
आइतवार, कार्तिक २६, २०८०

गोरखा – गोरखामा एक हप्ताको अवधिमा छ सयभन्दा धेरै कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच वटा पालिका र सदरमुकाममा रहेको केन्द्रको कार्यालयमा कुकुरको बन्ध्याकरण गरेको हो । गएको असोज १७ गतेबाट एक हप्तासम्म चलेको अभियानका क्रममा छ सय २३ वटा कुकुरको बन्ध्याकरण गरिएको विज्ञ केन्द्रका सूचना अधिकारी टीकाबहादुर नेपालीले बताउनुभयो ।

यसै क्रममा आरुघाट गाऊँपालिकामा एक सय ७३, बारपाक सुलिकोट गाऊँपालिकामा एक सय १९, अजिरकोट गाऊँपालिकामा एक सय सात, सिरानचोक गाऊँपालिकामा ७८ र पालुङटार नगरपालिकामा ९७ वटा कुकुरको बन्ध्याकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

अभियानको अन्तिम दिन शुक्रवार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ४९ वटा कुकुरको बन्ध्याकरण गरिएको उहाँको भनाइ छ । छाडा कुकुरको संख्या नियन्त्रण गर्दै रेबिज रोग निर्मूल पार्ने लक्ष्यमा सहयोग पुर्‍याउने उद्देश्यले बन्ध्याकरण कार्यक्रम गरिएको सूचना अधिकारी नेपालीले बताउनुभयो ।

सरकारले सन् २०३० सम्ममा रेबिज रोग उन्मुलन गर्ने लक्ष्य लिएको छ । काठमाण्डौको भ्याली एनिमल क्लिनिकको प्राविधिक सहयोगमा साताव्यापी अभियान सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । छाडा कुकुरबाट थप सन्तान उत्पादन नहोस् भनेर कुकुरको बन्ध्याकरण गर्ने गरिन्छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजनन दर घटाउनका लागि कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

विश्वमा ३७ वर्ष पहिले अर्थात् सन् १९८६ मा कुकुरको बन्ध्याकरण अभियान शुरु भएकोमा नेपालमा भने सन् २०१० बाट यो अभियान शुरु भएको हो । जनावरको सुरक्षा, स्वास्थ्य र उद्धारको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्ट लगायतका संघसंस्थाको सहयोगमा देशका विभिन्न पालिकाले कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर