Aamsanchar

२२ जनाभन्दा धेरै मानिसको ज्यान लिएको ध्रुवे हात्ती नियन्त्रणका लागि टोली परिचालन

Author Image
सोमवार, कार्तिक २७, २०८०

तस्बिर : चुङ्बा शेर्पा

चितवन –२२ जनाभन्दा धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

झन्डै १५ दिनदेखि ध्रुवे हात्ती माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ ।

उहाँले भन्नुभयो, ुहात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि हात्तीको नियन्त्रणका लागि प्राविधिकसहितको दुईवटा टोली परिचालन गरिएको छ।ु हात्ती देखिएमा मात नियन्त्रण गर्ने औषधि प्रयोग गरी ‘डाट’ गर्ने उहाँले बताउनुभयो । यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ ।

योसँगै ‘स्याटेलाइट कलर’ जडान गरिने उहाँले जानकारी दिनुभयो । कलर जडान गरेसँगै हात्तीले गरेका गतिविधिको बारेमा जानकारी लिन सकिने उहाँले बताउनुभयो । यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् ।

निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै बेलुका बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ । उहाँले भन्नुभयो, ´हात्ती बाहिर निस्किएको हुँदा मानवीय क्षति हुनसक्ने भएकाले बेलुका र बिहानपख अत्यावश्यक कामबाहेक बाहिर ननिस्कान अनुरोध गर्दछौँ ।`

निस्कनै परे टर्च लाइट बालेर र समूहमा निस्कन कार्यालयले अपिल गरेको छ । यस हात्ती हरेक वर्ष बस्तीमा पसेर नागरिकलाई दुःख दिँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर