Aamsanchar

नबोली स्नान गरेर मनाइने सोमबारे औँसी

Author Image
मङ्गलवार, कार्तिक २८, २०८०

काठमाडौँ – सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ।

सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रहिआएको छ। कार्तिक कृष्ण औँसी आज सोमबार परेको हो। सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँसी पर्ने गरेको बताउँछन्।

सोमबारे औँसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताए। औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ। सोमबार औँसी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ। प्रत्येक महिनामा आउने औँसीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रहिआएको छ।

माता, पिता नहुनेले भने औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन्। यसका लागि पनि सोमबार परेको औँसी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले बताए। यस अवसरमा विभिन्न तीर्थमा स्नान गर्नेको भीड लागेको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)