Aamsanchar

भाइटिकाका विषयमा जनउक्ति

Author Image
बुधवार, कार्तिक २९, २०८०

काठमाडौं । भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ । एक पटक एक जना चेलीले आफ्नो दाजुलाई टिका लाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आई पुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यु निश्चय छ । ती चेलीले यमदूतलाई टिका टालो नसकुन्जेलसम्म पर्खिन भन्छिन् र टिकोटालाका क्रममा यमदूतलाई पनि सँगै राखेर टिका टालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदूतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजुलाई नलग्नु भनेर वरदान मागेर बचाएको अर्थात् चेलीको मायाले दाजुभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।

यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौँ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजुलाई यसै गरी टिका लगाउन र पुज्न पाउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किम्बदन्ती रहेको छ ।

दिदी(बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजुभाइहरू आज दिदीवहिनीसंग टिका लगाउँदछन् । टिका लगाउनु पूर्व दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्न कालागि भूँइमा चकटी ओछ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेल(पानी राखेर हरियो दुवोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेष गर्दै पूजा गर्दछन् । यमराजको प्रतीक मानेर बिमिरा (एक प्रकारको ठुलो कागती प्रजातिको फल) को पूजा गरिसकेपछि, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाइ ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ ।

शिरमा तोरीको तेल लगाएर दाजुभाइको कपाल कोरेर अनि सप्तरङ्गी टी लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाइदिन्छन् । सप्तरङ्गी टिकाको कला एक अर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरू आफ्नो गक्ष अनुसारको फलफूल, नैवेद्य, मरमसला दाजुभाइलाई प्रदान गर्दछन् भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरू दिदीबहिनीको पाउमा राखेर ढोग्दछन् ।

आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्, दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर