![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/InShot_20231117_111009249.jpg)
इलाम-इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि-धार्मिक महोत्सव सुरु भएको छ । विश्वशान्तिको कामनासहित आगामी मङ्सिर ८ गते महोत्सव आयोजना गरिने भएको हो । महोत्सवमा सनातन, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रुपमा पूजा अर्चना गरिनेछ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताका रुपले महत्वपूर्ण मानिने माइपोखरीमा त्रि–धार्मिक महोत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको आयोजक समितिका संयोजक प्रेम नाछिरिङ राईले बताउनुभयो । यसैगरि बौद्ध परम्पराअनुसार लामा गुरुहरुले यहाँ रहेको बौद्ध गुम्बामा पाठ तथा पूजा अर्चना र प्रवचन गर्नेछन् । माइपोखरीमा बनाइएको साकेला थानमा किरात धर्म गुरुबाट साकेला पूजा र प्रवचन आठ दिनसम्म चल्ने संयोजक राईले जानकारी दिनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
महोत्सवका लागि अहिले कलशयात्रा निकालिंँदै छ । कलश यात्राले नजिकै रहेको देउराली बजार परिक्रमा गरि ज्ञानमहायज्ञ आयोजना गरिएको स्थलमा आउने छ । माइपोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयामिक अनुसन्धान स्थलका रूपमा विकास गर्ने उद्देश्यले महाउत्सव आयोजना गरिएको जनाइएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
रामसार क्षेत्रमा सूचीकृत भएपछि देशमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा माइपोखरी क्षेत्र महत्वपूर्ण छ । यसको महत्वलाई विश्वभर प्रचार गराउन महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका प्रचार संयोजक श्यामकुमार राईले बताउनुभयो । महोत्सवमा माइपोखरी दर्शन–अवलोकन, माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन र दर्शन, हरेक साँझ गुरुहरूबाट माइपोखरी महाआरती, सांस्कृतिक झाँकी प्रदर्शन, सनातन, बौद्ध र किरात गुरुबाट प्रवचन यसका मुख्य आकर्षण रहने महोत्सव आयोजक समितिका प्रचार समिति संयोजक राईले बताउनुभयो । माइपोखरीमा पूजाआजा गर्दा विभिन्न भाकल र मनोकांक्षा पुरा हुने विश्वास गरिंदै आएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
माइपोखरीलाई सन् २००८ मा रामसार महासन्धीको दशौं बैठकले विश्वसम्पदा सूचीमा सूचीकृत गरेपछि अहिले माइपोखरीको जैविक विधिता अध्ययनरत गर्न विद्यार्थीहरु पनि उत्तिकै आउने गरेका छन् ।
दुई हजार एक सय १ मिटर उचाइमा रहेको माइपोखरीमध्ये पहाडी क्षेत्रमा पर्ने नेपालकै पहिलो रामसार क्षेत्र पनि हो । १२ हेक्टरको जलाशय रहेको माइपोखरी क्षेत्र दर्जनौं प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडिबुटीले ढाकेको छ । पोखरीको वरपर ९० हेक्टरको धार्मिक वन छ । न्यूनतम् तीनदेखि अधिकतम् १७ डिग्रीसम्म सेल्सिएससम्म तापक्रम पुग्ने माइपोखरी क्षेत्रमा १४ प्रजातिका स्तनधारी, १२ प्रजातिका सरिसृप, छ प्रजातिका उभयचर पाइन्छन् । रुख भ्यागुतो, ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्याङट्याङ पाहा, हरियो छेपारो, चङ्खे सर्प र विश्वको लोपोन्मुख ओंत पनि यही विविधतामा रमाउँछन् ।
यस्तै, यहाँ तीन प्रजातिका रैथाने माछा पाइन्छ । काँकाँकुल, भूँडीफोर, हिमाली गिद्धजस्ता तीन सय प्रजातिका पंक्षी ओहोर–दोहोर गर्छन् माइपोखरीमा । श्रीलंका–साइबेरिया आउजाउ गर्ने चराको मार्ग पनि माइपोखरी नै रहेको चराविद्हरु बताउँछन् । माइपोखरीको विकासका लागि भएका अध्ययनहरुमा यहाँ ६२ प्रजातिका जडीबुटी पाइएका छन् । इलाम सदरमुकामबाट उत्तरमा विल्याँटे बजार हुँदै आधाजति कालोपत्रे र आधाजति कच्ची गरि १३ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ ।