Aamsanchar

छठ पूजा गरेर घर फर्किँदै गरेकी महिलाको वीङ्गर गाडीको ठक्करबाट मृ*त्यु, ट्राफिक हवलदार घाइते

Author Image
सोमवार, मंसिर ४, २०८०

सर्लाही-पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा सोमबार बिहान वीङ्गर गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गर्नुभएका स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको गाडीले ठक्कर दिँदा मृत्यु भएको हो । लालबन्दीबाट यात्रु लिन नयाँ रोडतर्फ गइरहेको मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको वीङ्गरले सोमबार बिहान ७ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका पोखरेललाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार सोही गाडीको ठक्करबाट छठघाटस्थलमा सडक सुरक्षार्थ खटिनुभएका एक ट्राफिक हवलदार समेत घाइते हुनुभएको छ । ट्राफिक प्रहरी पोस्ट हरिवनमा कार्यरत ट्राफिक प्रहरी हवलदार सुबोध कुमार यादव घाइते हुनुभएको हो ।

बायाँ खुट्टामा चोट लागेर घाइते हुनुभएका ट्राफिक प्रहरी हवलदार यादवलाई हरिवनमा सामान्य उपचारपश्चात् लालगढ अस्पताल, धनुषा रेफर गरिएको छ । उक्त वीङ्गरले सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पुर्याएको छ ।

दुर्घटनामा संलग्न वीङ्गर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर