Aamsanchar

माेरङमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्री घाइते, मोटरसाइकल र स्कुटरमा क्षति

Author Image
बुधवार, मंसिर ६, २०८०

विराटनगर – चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको एम्बुलेन्सले ठक्कर दिँदा विराटनगरमा एक जना घाइते भएका छन्। एम्बुलेन्सको ठक्करबाट सडकमा पार्किङ गरेर राखिएका २ वटा मोटरसाइकल र २ वटा स्कुटरमा पूर्ण रूपमा क्षति पुगेको छ। एम्बुलेन्समा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका–७ स्थित कोसी अस्पताल अगाडि को १ च ४१५८ नम्बरको एम्बुलेन्सले मंगलबार साँझ ७:४५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार लायन्स क्लब विराटनगरको एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्री सुनसरीको रामधुनी–२ का २५ वर्षीय कान्छा ऋषिदेव घाइते भएका छन्। सामान्य अवस्थाका ऋषिदेवको कोसी अस्पतालमै उपचार भइरहेको छ।

सडकमा अनियन्त्रित हिसाबले गुडिरहेको एम्बुलेन्सले ठक्कर दिँदा सडकमा पार्किङ गरेर राखिएका को ३३ प ५८१८ र प्रदेश–१–०२–०४४ प १०४१ नम्बरको मोटरसाइकल तथा को २७ प ४५५२ र को २५ प २३६८ नम्बरको स्कुटरमा क्षति पुगेको डीएसपी दाहालले बताए। उनका अनुसार मोटरसाइकल र स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

एम्बुलेन्स चालक मोरङको रतुवामाई नगरपालिका–५ का २९ वर्षीय सफुल मुर्मुलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। चालक मुर्मुले मापसे गरेर चलाएका कारण अनियन्त्रित भएर एम्बुलेन्सले पैदलयात्री र मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)