Aamsanchar

बराहपोखरीमा साँस्कृतिक महोत्सव सुरु

Author Image
बुधवार, मंसिर ६, २०८०

खोटाङ – नेपाल सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको प्रचार–प्रसारका लागि साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । बराहपोखरी गाउँपालिका–१ मा पर्ने बराहपोखरीको प्रचार प्रसारका लागि हरिबोधनी एकादशीको अवसर पारेर गाउँपालिकाले खोटाङ कलाकार समाज, काठमाण्डौसँगको सहकार्यमा बुधवार बराहपोखरी साँस्कृतिक महोत्सव आयोजना गरेको हो ।

साँस्कृतिक महोत्सवका लागि खोटाङ कलाकार समाजमा आबद्ध कलाकारसँगै चर्चित गायक शम्भु राई, कमल खत्री र हास्यकलाकार सुबोध गौतम लगायत बराहपोखरी आइपुगेका छन् । महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतीसँगै स्थानीय विभिन्न जातजातिका आ–आफ्नो मौलिक संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम गरिने छ । बराहपोखरीलाई पूर्वको फेवातालका रुपमा चिनाउने लक्ष्यका साथ बराहपोखरी साँस्कृतिक महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराले बताउनु भयो ।

चार दशमलव ४६ हेक्टरमा फैलिएको बराहपोखरीलाई बाराहपोखरी र बारुवापोखरी पनि भनिन्छ । मुहान र निकास हुने ठाउँ नदेखिए पनि बार्‍है मास पानी हुनु बराहपोखरीको विषेशता हो । लोपोन्मुख मानिने रातो माछा बराहपोखरीको अर्को आकर्षण हो । पोखरी नै राताम्य बनाएर रातो माछा खेलिरहेको टाढैबाट देखिन्छ । डाँडाबाट मनमोहक देखिने बराहपोखरीमा दर्शन गर्न, मेला भर्न र घुमफिर गर्न स्थानीय पुग्ने गरेका छन् । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बराहपोखरी अझै पनि ओझेलमा परेको छ ।

एकादशीको अवसरमा बराहपोखरीमा मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्लाभित्र तथा वाहिरबाट आएका हजारौँ दर्शनार्थीको बाक्लो घुइँचो लागेको छ । विशेषगरी हरिबोधनी एकादशीको अघिल्लो दिन र हरिबोधनी एकादशीको दिन बराहपोखरी किनारमा नुहाउने र शंखेश्वरी महादेवको मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको थेगिनसक्नु भिड लाग्ने गरेको छ । एकादशीको अघिल्लो दिन मेला भर्ने, पूजाआजा गर्ने र राति जाग्राम बसेर भोलिपल्ट फर्कने गरेका छन् । बराहपोखरीमा एकादशीको अघिल्लो दिन ठूलो मेला लाग्ने गरेको छ ।

मेला र महोत्सवका लागि बराहपोखरी गाउँपालिकाले मंसिर ६ र ७ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिका र छिमेकी पालिकाबाट स्थानीय बराहपोखरी मेलामा आउने जाने भएकाले गाउँपालिकाले कात्तिक २० गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार दुई दिन बिदा दिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर