Aamsanchar

मोरङमा लुटपाट मच्चाउन खोज्ने हतियारधारी गिरोह कारागार चलान

Author Image
बुधवार, मंसिर ६, २०८०

विराटनगर – मोरङमा दसैंको समयमा योजना बनाएर लुटपाट मच्चाउन खोज्ने हतियारधारी गिरोहलाई कारागार चलान गरिएको छ।

जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि गिरोहका ३ जनालाई कारागार चलान गरिएको हो। न्यायाधीश राजेश्वर अर्यालको इजलासले हतियारसहित पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न मंगलबार आदेश दिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए। उनका अनुसार आदेशलगत्तै अभियुक्तहरुलाई मोरङ कारागार चलान गरिएको छ।

मोरङको धनपालथान गाउँपालिका-२ पैठास्थित खयरवना-कर्सिया भित्री सडकखण्डमा गत कात्तिक ३ गते राति ९:३० बजे शंकास्पद अवस्थामा भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडी फेला परेको थियो। सडकको छेउमा पार्किङ गरिएको बीआर ०६ पीए १३६२ नम्बरको स्कोरपिओलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी सुरु गरेपछि गाडीभित्र रहेका व्यक्तिहरु फरार भएका थिए। गाडीका चालक भने भाग्न भ्याएनन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार चेकजाँचका क्रममा गाडीको इन्जिन छेउको खाली ठाउँमा कालो कपडाले बेरेर लुकाईछिपाई राखेको एउटा कटुवा पेस्तोल र ३ राउण्ड गोली फेला परेको थियो। त्यसलगत्तै गाडी चालक सर्लाहीको हरिपूर्वा नगरपालिका-७ मिर्चया टोलका २८ वर्षीय रवीन्द्र यादवलाई प्रहरीले पक्राउ गर्‍यो। रवीन्द्रलाई पक्राउ गरेको प्रहरी त्यसपछि फरार रहेकाको खोजीमा जुट्यो। फरार हुनेमध्ये २ जना मोरङकै नेपाल-भारत सीमा क्षेत्र नजिकबाट कात्तिक ४ गते बिहान पक्राउ परेको डीएसपी दाहालले बताए।

उनका अनुसार सीमा क्षेत्रबाट सर्लाहीको हरिपूर्वा-७ मिर्चया टोलका २३ वर्षीय कमलेशकुमार यादव र महोत्तरीको गौशाला नगरपालिका-६ फुल्काहा टोलका २४ वर्षीय देमान भनिने रामध्यान यादवलाई पक्राउ गरिएको हो। प्रहरीले गाडी चेकजाँच गर्न थालेपछि कमलेश र रामध्यानसहित ४ जना फरार भएका थिए। उनीहरुसँगै भागेका २ जना अझैसम्म फरार रहेको र खोजी जारी राखिएको दाहालले बताए।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले आपराधिक पृष्ठभूमिको हतियारधारी गिरोहमाथि विभिन्न कोणबाट अनुसन्धान गरेको थियो। प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि पक्राउ परेका ३ र फरार रहेका २ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालय मोरङले अदालतमा मुद्दा दायर गर्‍यो। वकिल कार्यालयले मिसिललाई आधार बनाउँदै अभियोगपत्र तयार पारेर ५ जना अभियुक्तविरुद्ध मोरङ अदालतमा हातहतियार तथा खरखजना मुद्दा दायर गरेको हो।

अदालतमा अभियुक्तको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच मंगलबार थुनछेक बहस भएको थियो। बहसपछि अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न इजलासबाट आदेश भएको अदालतका सूचना अधिकारी सुवेदीले बताए।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले दसैंको समयमा योजना बनाएर लुटपाट एवं डकैती गर्न हिँडेको हतियारधारी गिरोहलाई बेलैमा पक्राउ गर्न प्रहरी सफल भएको जानकारी दिए। उनका अनुसार चाडपर्वको मौका छोपेर योजनावद्ध ढंगले हिँडेको गिरोहलाई समयमै प्रहरीले नियन्त्रणमा लिएकाले अप्रिय घटना हुन पाएन। ‘पक्राउ परेको गिरोहले कुनै एउटा निश्चित ठाउँलाई मात्रै लक्षित गरेको देखिँदैन।

तर, मौका पर्नासाथ सहरी एवं ग्रामीण क्षेत्रका सहकारी, बैंक, वित्तीय संस्था तथा आर्थिक कारोबार बढी हुने स्थानमा लुटपाट मच्चाउने योजना बनाएको पाइयो,’ एसपी पोखरेल भन्छन्, ‘उनीहरु लुटपाट एवं डकैतीकै योजना बनाएर मोरङसम्म आइपुगेका हुन्। उपयुक्त समय र स्थानको खोजी गरेर हिँडिरहेको अनुसन्धानबाट खुलेको छ।’

सहज परिस्थितिको पर्खाइमा रहेका बेला पक्राउ परेपछि गिरोहको योजना असफल भएको उनको भनाइ छ। पक्राउ पर्नुभन्दा ३ दिनअघि नै गिरोहका सदस्य विराटनगर प्रवेश गरेको अनुसन्धानबाट खुलेको छ। विराटनगरको एउटा होटलमा योजना बनाएपछि लुटपाटका लागि पायक पर्ने र सहज हुने ठाउँ खोज्दै हिँडिरहेको अवस्थामा हतियारधारी गिरोह प्रहरीको फन्दामा परेको एसपी पोखरेलले बताए। ‘सहज हुने र पायक पर्ने स्थान पत्ता लगाएर लुटपाट मच्चाउने योजना रहेछ,’ उनले भने, ‘भाग्न सजिलो हुने भएकाले नेपाल-भारत सीमा क्षेत्र आसपासका स्थान उनीहरुको पहिलो रोजाइमा परेको पाइएको छ।’

सहकारी लुटपाटमा पनि संलग्न

कारागार चलान भएकामध्ये कमलेशकुमार यादव मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित सौजन्य बचत तथा ऋण सहकारी संस्थामा भएको लुटपाटमा संलग्न अभियुक्त हुन्। उनी प्रहरीको फरार सूचीमा थिए। प्रहरीले खोजी गरिरहेका कमलेश अर्को गिरोहसँग मिलेर पुनः लुटपाट मच्चाउने योजनासहित मोरङ आएको खुलेको छ।

सहकारीको ७ लाख ७७ हजार १८ रुपैयाँ नगद २०७९ चैत २ गते राति लुटपाट गरिएको थियो। लुटपाटमा ९ जनाको गिरोह संलग्न रहेको प्रहरीको अनुसन्धानबाट यकिन भएको छ। घटनामा संलग्नमध्ये सर्लाहीको लालबन्दी नगरपालिका-२ का ३५ वर्षीय मिथुन पासवान, सर्लाहीकै ईश्वरपुर नगरपालिका-५ का २६ वर्षीय मिथिलेश महतो, मोरङको ग्रामथान-५ का ४० वर्षीय दिलिपकुमार चौधरी थारु र २८ वर्षीय इरज धामी पक्राउ परेका थिए।

ग्राथमानका दिलिप र इरजले सहकारीका बारेमा सबै सूचना दिएपछि सर्लाहीदेखिको गिरोह आएर लुटपाट एवं डकैती मच्चाएको अनुसन्धानबाट थाहा भएको छ। त्यसमा संलग्न गिरोहविरुद्ध प्रहरीले डाँका मुद्दा चलाएको थियो। पक्राउ परेकामध्ये मिथिलेश अदालतको आदेशबाट २ लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन्।

अन्य ३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। घटनामा संलग्नमध्ये ५ जना फरार थिए। तीमध्ये कमलेश लुटपाटको अर्को घटना गराउने योजनासहित मोरङ आएका बेला पक्राउ परेका हुन्। सहकारी लुटपाटमा संलग्न ४ जना हालसम्म फरार रहेको र खोजी जारी राखिएको प्रहरीले जनाएको छ।

लुटपाटको योजनासहित हिँडिरहेका बेला मोरङबाट पक्राउ परेको हतियारधारी गिरोह र गिरोहले प्रयोग गरेको भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडी। तस्बिर – अन्नपूर्ण

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर