Aamsanchar

आज हुने दुई पक्षको प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंमा उच्च सुरक्षा सतर्कता

Author Image
बिहिवार, मंसिर ७, २०८०

फायल फोटो

काठमाण्डौ । आज मंसिर ७ गते राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै गृह प्रसाशनले काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षाकर्मीहरुले काठमाण्डौ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच गरिरहेका छन् । ट्राफिक प्रहरीले पनि नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ गर्ने काम भइरहेको छ ।

अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाण्डौ उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ । निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ । सहरका मुख्य चोकहरुमा पनि सुरक्षा जाँच भइरहेको छ ।

बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ । सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ । सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भइसकेका छन् । दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरेमा कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो । आजको प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै शान्ति सुरक्षाको सबै व्यवस्था मिलाइएको पनि उहाँको भनाइ छ । दुवै पक्षले एक लाख जनाभन्दा धेरै प्रदर्शनकारी ल्याउने घोषणा गरे पनि प्रहरीले बढीमा १५ हजार जना प्रदर्शनकारी आउन सक्ने आकलन गरेको छ ।

यस्तै, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ । विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्व निर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक काम बाहेक गाडी ननिकाल्न अनुरोध गरेको हो । सडकको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले आज हुने भनिएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । श्रोत : उज्यालो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर