Aamsanchar

नौमती बाजा सिक्दै महिला

Author Image
शुक्रवार, मंसिर ८, २०८०

इलाम- इलाम नगरपालिका– ९ की ५५ वर्षीया भीमा पाठक अहिले नौमती बाजा मध्येको ढोलक बजाउन निकै पोख्त भइसक्नु भएको छ । उमेर घर्किँदै जाँदा पनि पाठकलाई आफ्नै विवाहमा बजेका नौ मति बाजामा नाच्ने रहर अझै पुरा भएको छैन ।

‘२०४३ सालमा विवाह हुँदा रातै भर नौमती बाजा बजे, त्यसमा नाच्न कति मन थियो, बेहुली भएपछि नाच्न पाइएन, अब छोराको विवाहमा आफैँ बाजा घन्काउने दाउ छ ।’ पाठकले भन्नुभयो ‘रहर रहरमै सीमित थियो, यहाँ महिला समूहले तालिम नै आयोजना गरेपछि रहर पुरा गर्न पनि सिक्न आएकी हुँ ।’

भिमा जस्तै स्थानीय रिंकु गुरुङ पनि सनई बजाउन निकै जान्ने हुनुभएको छ । जीवनमा पहिलो पटक नौमती बाजा छोएको बताउने गुरुङ हराउँदै गएको नौमती संस्कृतिको जगेर्ना गर्न बाजा बजाउन सिकेको बताउनु भयो । ‘पहिला–पहिला दलित समुदायले यो बाजा बजाउने चलन थियो, तर म दलितकै छोरी भए पनि नौमती बजाउन पाएकी थिइन, महिलाहरूले बाजा बजाउनु हुँदैन भन्ने विश्वास थियो ।’ गुरुङले भन्नुभयो ‘अहिले चार–पाँच वटा गीतको धुनमा सनई बजाउन सिकिरहेकी छु ।’

 

सात दिन सम्म सिक्दा १२ जना महिलाहरूले नौमती बजाउन राम्ररी जानेको तालिम आयोजक नौमती बाजा संस्कृति महिला समूहकी अध्यक्ष वेदमाया भट्टराईले बताउनु भयो । इलाम नगरपालिका– ९ नम्बर वडा कार्यालयको दुई लाख रुपियाँ सहयोगमा नौमती बाजा खरिद र तालिम आयोजना रहेर स्थानीय महिलाहरूलाई दक्ष बनाइएको भट्टराईको भनाइ छ । ‘समाजमा हराउँदै गएको नौमती संस्कृति जोगाउन र एकल, गरिब र कम आयआर्जन भएका दिदीबहिनीलाई व्यावसायिक बनाउन पनि यो तालिम आयोजना गरेका थियौँ ।’ अध्यक्ष भट्टराईले भन्नुभयो ‘लक्ष्य अनुसार दिदीबहिनी दक्ष बन्नुभएको छ । कुनै पनि सभा, समारोह, चाडपर्व, विवाह उत्सवहरूमा हामीले राम्ररी नौमतीको प्रस्तुति दिन सक्षम भएका छौँ ।’

समूहले झापाबाट प्रशिक्षक ल्याएर तालिम आयोजना गरेको थियो । तालिमका प्रशिक्षक वीरबहादुर महतले छोटो समयमा यहाँका दिदीबहिनीले राम्रो प्रगति गरेको बताउनु भयो । ‘नरसिङ्गा बजाउन निकै गाह्रो हुन्छ, सनई पनि गाह्रोनै हुन्छ । तर दिदीबहिनीले बजाउन प्रयास गर्नुभयो, सिक्नुभयो’ महतले भन्नुभयो ‘अझ सजिलो किसिमको नरसिङ्गा हुन्छ त्यो बाजा ल्याउनु भन्ने सल्लाह दिएको छ ।’ आफू क्षेत्री ब्राह्मण समुदायको भए पनि सानै देखि नौमती बजाउने गरेको र यसको संरक्षण गर्नुपर्ने अवस्था रहेको महत बताउनु हुन्छ । ‘नौमती बजाउने चलन हराएर गयो । अहिले रेकर्ड गरेका धुन मात्र बज्छन् । प्रत्यक्ष समूह भेला भएर बाजा बजाउने हाम्रो संस्कृतिलाई जगेर्ना गर्नुपर्ने महतको भनाइ छ ।

इलाम नगरपालिका– ९ मा गएको मङ्सिर दुईगते देखि नौमती बाजा बजाउने सात दिने तालिम सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर