Aamsanchar

फालेलुङ महोत्सवको तयारी, सिमापार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य

Author Image
सोमवार, मंसिर ११, २०८०

फिदिम – सिमापार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यल‍े पाँचथरको फालेलुङ गाँउपालिका ४ थाप्लिटारस्थित सिर्लिङ्गेमा ‘प्रथम फालेलुङ पर्यटन महोत्सव २०८०’को तयारी गरिएको छ। महोत्सवका लागि नेपाल भारतको सिमा छुट्याएको एक नम्बर जंगे पिलर रहेको तीनसिमाना नजिकैको स्थान छानिएको हो।

सिमापार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिमाक्षेत्रमा महोत्सवको तयारी गरिएको आयोजक तीन सिमाना जन सेवा समाज नेपालले फिदिममा पत्रकार सम्मेलन गरी जनाएको हो। मंसिर २५ गतेदेखि तीन दिनसम्म महोत्सव सञ्चालन गर्ने तयारी छ । ‘प्राकृतिक तथा जैविक विविधताबाट आर्थिक उपार्जन गरौँ, पर्यटन प्रवर्द्धन गरी फालेलुङलाई समृद्ध बनाऔँ’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो। तीन हजार तीन सय ३२ मिटरको उचाईमा आयोजना गर्न लागिएको महोत्सवमा आन्तरिक र बाह्य गरी पाँच हजार पर्यटकहरु सहभागी गराउने आयोजकका लक्ष्य छ।

पर्यटकीय स्थलहरुको प्रवर्द्धन र विकास गर्ने, जैविक तथा प्राकृतिक वस्तुहरुको प्रचार प्रसार गर्ने, आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुर्‍याउने, जातजाति, भाषा, धर्म तथा सँस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सवको तयारी गरिएको हो।

 

महोत्सवस्थलबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने आयोजक संस्थाका अध्यक्ष योगेन्द्र सावदेन (लेन्जो) ले जानकारी दिए। यहाँबाट सगरमाथा, कुम्भकर्ण, कञ्चन्जंघा लगायतका आठ वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ। महोत्सवमा स्थानीय कला संस्कृति र झाँकीहरु प्रदर्शन गर्ने तयारी छ। त्यस्तै गरी चौँरीजन्य वस्तुहरुको स्टल र स्थानीय उत्पादनहरु महोत्सवमा प्रदर्शन गरिने सावदेनले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 84

प्रतिक्रिया (०)