Aamsanchar

सविता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारको छनौटमा

Author Image
सोमवार, मंसिर ११, २०८०

काठमाडौं – लामो समयदेखि अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय योगदान पुर्‍याएबापत सामाजिक अभियन्ता एवं शिक्षासेवी सविता उप्रेती यस वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारको छनौटमा परेकी छन्। १४० राष्ट्रमा सदस्य रहेको भारतीय मानव अधिकार परिषद्ले उक्त पुरस्कारका लागि अभियन्ता उप्रेतीलाई छानेको हो।

आगामी डिसेम्बर १० तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा भारतको नयाँ दिल्लीमा हुने १३ औं अन्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलन र पुरस्कार–२०२३ वितरण समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिनेछ। शान्ति, सद्भाव, मानव अधिकारको संरक्षण र प्रबद्र्धन तथा मानवताको सेवामा उत्कृष्ट योगदान पुर्‍याउने ब्यक्तिलाई उक्त पुरस्कार दिइँदै आएको छ।

उप्रेतीले मानव अधिकार, शान्ति, करुणाका साथै बहुआयामिक मानवीय सेवाहरूमार्फत अथक र निःस्वार्थ रूपमा गरेका कामका लागि उनलाई उक्त पुरस्कार प्रदान गरिएको परिषद्ले जनाएको छ। परिषद्का अनुसार विशेष गरी युवा पुस्तालाई केही उल्लेखनीय उपलब्धिहरूतर्फ प्रेरित गरेको भन्दै उनलाई उक्त अवार्ड दिन लागिएको हो।

 

ठूलो व्यक्तिगत जोखिम, शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरण तथा बालबालिकाका सेवा र वकालत गर्ने असाधारण साहस र नेतृत्व भएका विश्वभरका महिलालाई बर्सेनि यो पुरस्कार दिने गरिन्छ। यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित पुरस्कार हो।
युवा सामाजिक अभियन्ता उप्रेतीले विगत १३ वर्षदेखि विशेष स्कुल तथा पुनःस्थापना केन्द्र(एसएसडीआरसी) स्थापना गरी अटिजम भएका बालबालिकाको सेवामा आफ्नो जीवन समर्पित गरेकी छन्। हाल संस्थाले नरेफाँट, गोठाटार र भक्तपुरको ताथली गरी तीन शाखा सञ्चालनमा ल्याएर ६० जना बालबालिका तथा किशोरकिशोरीलाई विशेष शिक्षा र थेरापी सेवाहरू प्रदान गर्दै आएको छ।

आफ्नो जागिरको शिलशिलामा फिल्डमा जाँदा अटिजम भएका बालबालिकालाई घरमा साङ्लो र डोरीले बाँधेर राखेको अवस्थामा उनले देख्थिन्। यस्तो नाजुक अवस्था भएका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पुनस्र्थापनाको लागि लाग्ने उनले अठोट गरिन्। उप्रेतीले नेपाली समाज बुझ्न र बुझाउन कठिन, सरकारलेसमेत पहिचान गर्न नसकेको अटिजम अपांगता जस्तो जटिल र चुनौतीपूर्ण सेवाको क्षेत्रमा आफूलाई समर्पित गर्ने सोच बनाइन्।

आफ्नो बाबुआमाले विवाहको लागि राखेको रकम मागेर २२ वर्षको लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा एसएसडीआरसीको स्थापना गरी नेपाली समाजमा अटिजमको बारेमा सचेतना जगाउने, सरकारसँग पैरवी गर्ने तथा बालबालिकाको सेवामा अभियान सञ्चालन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा युवा तथा महिलाको उत्प्रेरणाको स्रोत बनेकी छन्। उनी जनसेवा श्री पदक(समाज सेवामा), राष्ट्रिय युवा प्रतिभा पुरस्कार (समाजसेवा र शिक्षा)लगायतका विभिन्न राष्ट्रिय पुरस्कारहरूबाट समेत पुरस्कृत भइसकेकी छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)