Aamsanchar

‘सहारा सिङगिङ आइडल’ बने आयुष घिमिरे 

Author Image
मङ्गलवार, मंसिर १२, २०८०

चारपाने । ‘सहारा सिङगिङ आइडल २०२३’  मा कञ्चनजंगा इङलिस स्कुलका विद्यार्थी आयुष घिमिरे प्रथम भएका छन् । त्यसैगरी मोहनमाया माध्यमिक विद्यालयका विद्यार्थी मित्रराज भारती दोस्रो बने भने न्युटन स्कुलकी छात्रा रुवी पाठक तेस्रो बन्न सफल भएकी छन ।
वीरता लेडी जेसीजको आयोजना र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको प्रायोजनमा आज सहारा साकोसको सभाहलमा आयोजित अन्तिम निर्णयक गायन प्रतियोगितामा प्रथम हुनेले १७ हजार नगद, प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् । दोस्रो हुनेले १३ हजार नगद, प्रमाण पत्र र मेडल पाए भने तेस्रो स्थान हासिल गर्नेले नगद १० हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका हुन ।

गायन क्षेत्रमा नयाँ प्रतिभा खोजी र उत्पादन  गर्ने उद्देश्यले आयोजना भएको गायन प्रतियोगिताका लागि झापा जिल्लाका विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै ३८ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । हिजो भएको प्रथम छनौट प्रतियोगितामा २७ जनालाई पछि पारेर आज फाइनलमा ११ जनाले प्रतिष्पर्धा गरेका थिए ।
आज फाइनलमा   रुबी पाठक, सुरज ओली, सविना तामाङ, दिया शर्मा, दिवाकर बराइली, मित्रराज भारती, सदीक्षा कार्की, पलक्क्षी रेग्मी, आयुष घिमिरे, प्रशान्त गुरागाईँ, रिया दाहाल बीच प्रतिष्पर्धा भएको थियो ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहारा नेपाल साकोसका कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता महेन्द्र कुमार गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गिरीले वीरता लेडी जेसीजले गरेका कार्यक्रमहरू उत्कृष्ट र प्रभावकारी रहेको भनेर वीरता लेडी जेसीजको प्रशंसा गरेका छन । सन् २०२१ देखि वीरता लेडी जेसीज र सहारा बीच रहेको सहकार्यलाई आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाएका छन ।
बोल्ने क्रममा गिरीले भने  ‘वीरता लेडी जेसीज र सिंगो जेसीज अभियन्ताहरूले वर्तमान अवस्थामा गर्दै आएको काम भन्दा अझै प्रभावकारी ढङ्गको काम गर्नुपर्ने हुन्छ ।’  जेसीजहरुले उत्पादनशील तर्फ पनि ध्यान दिएर रोजगारीको बाटो खोल्नुपर्ने हुन्छ, वीरता लेडी जेसीजले जेसीज सदस्यहरूको हितका लागि अक्षयकोष स्थापना गर्नु पर्ने र लेडी जेसीजले यो कामको थालनी गरे आफ्नो तर्फबाट अक्षयकोषको लागि रु १ लाख उपलब्ध गराउने गिरीले आस्वसन दिएका छन ।
सहाराले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नको लागि १ लाख युवा सदस्य बनाउने लक्ष्य राखेको छ । सदस्य विस्तार अभियानमा जोडिन जेसीज युवाहरूमा गिरीले आवहन गरेका छन् । उनले भने ‘साहराले युवाहरूलाई अतिरिक्त क्रियाकलापमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले ५० वटा युथ अकाडेमी बनाउने निर्णय गरेको छ ।’

एकका लागि एक अभियानका संयोजक पनि रहेका गिरीले सुझाउँदै भने ‘अभियानको क्रममा दाताहरूले दिएको सहयोगबाट खर्च गरेर बाँकी रहेको ८० लाख रुपैयाँलाई ब्याज थप गरेर १ करोड भएपछि कोटिहोममा रहेको पिसिआर ल्याब रहेको ठाउँमा एपीएफको दैविक प्रकोपको लागि द्रुत  खटिने फोर्स समूहलाई राख्ने र झापा जिल्लामा आइपर्ने विपतको वेला २४ सै घण्टा सो जनशक्तिले उद्धारकालागि काम गर्ने छ । यसका लागि पहल र प्रक्रिया सुरु भएको ।’

सिङगिङ आइडल उद्घाटन कार्यक्रममा सञ्चारिका समूह झापाकी अध्यक्ष लिला अनमोल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, वीरता लेडी जेसीज संस्थापक अध्यक्ष शारदा रिजाल, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी सुरज कार्की, नेपाल जेसीज उपाध्यक्ष स्वस्तिका आचार्यले मन्तव्य राखेका थिए ।

वीरता लेडी जेसीजकी कानुनी सल्लाहकार तथा कार्यक्रम संयोजक युनिता दवाडीले स्वागत मन्तव्य राखेकी थिइन । निवर्तमान अध्यक्ष संगीता चिमरियाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन भने कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन । प्रतियोगिताको निर्णायकमा जोनी योञ्जन र तुलसा पाठक रहेका थिए ।  तस्वीरुहरु: सरोज सुवेदी/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर