Aamsanchar

जय श्री शिद्धिविनायक । आजको राशिफल । १३ मंसिर २०८०, बुधवार

Author Image
बुधवार, मंसिर १३, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । श्रमप्रति श्रद्धाभाव उत्पन्न हुनेछ, आफैंले गरेको मिहिनेत र लगनशीलताद्वारा धनार्जन गर्नुका साथै वैभवयुक्त जीवन भोग गर्न पाइने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो । बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने सङ्केत छ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ । काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
बढुवा वा पुरस्कार पाउने समय हो, प्रसिद्धि कमाउने मौका छ । प्रयास गरेमा उच्च ओहदा र मानसम्मान प्राप्त गर्न सक्नुहुन्छ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा–अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ, त्यस्तै कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिक÷पारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ । पतिपत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्न एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिलाउनु ठीक हुन्छ । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
नियम÷कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । मनमा वैराग्य जाग्ने र एकोहोरोपना बढ्ने समय हो । सकेसम्म रामरौस त्यागेर सरल व्यवहार र सादा जीवनशैलीलाई अनुसरण गर्नु जाती हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । प्रेमी वा प्रेमिकाको अहङ्कार, घमण्ड र जिद्दीपना बढ्नेछ । आफ्ना कुरा राख्न खोज्दा विवादको सम्भावना भएकाले आज नबोलेकै जाती हुन्छ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
झैझगडा वा विवादबाट टाढा बसेको जाति हुन्छ, अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने समय छ । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
छोराछोरीको क्रियाकलाप र उन्नति÷प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । अहङ्कार, अडान र आडम्बर कमजोरी बन्नसक्छन्, मनमा भ्रम र चिन्ता सलबलाउने समय भएकाले सकेसम्म धैर्य र संयम हुनु राम्रो हुन्छ । हाँके÷ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर