Aamsanchar

गएराति माेरङका तीन ठाउँमा आगलागी, ३१ लाख बढीको क्षति

Author Image
बुधवार, मंसिर १३, २०८०

विराटनगर – मोरङका अलगअलग स्थानमा आगलागी हुँदा ठूलो क्षति भएको छ। ३ ठाउँमा आगलागी हुँदा ३१ लाख बढीको क्षति भएको हो।

विराटनगर महानगरपालिका–६ का महेन्द्र सिंहको घरमा आगलागी हुँदा २७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। कर्कटपाताको छानो भएको दुई तले पक्की घरमा मंगलबार राति ८स्३० बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार घरको माथिल्लो तलाको कोठामा दूध तताउने क्रममा ग्यास लिक भई आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगोले घरसहित काठपात, लत्ताकपडा, भाँडावर्तन र अन्नपात जल्दा २७ लाख बराबरको क्षति भएको दाहालले बताए। घटनामा मानवीय र चौपाया क्षति भने भएन। प्रहरी, दमकल र स्थानीयको सहयोगमा लगभग डेढ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

त्यस्तै, विराटनगर–५ चाँदनी चोकस्थित शान्ता भट्टराईको गाई गोठमा राति १२ बजेतिर आगलागी भएको छ। आगोले जलेर गाईको एउटा बच्छो मरेको छ। आगलागीबाट गोठसहित काठ र भुस जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणमा लिन प्रहरी, दमकल र स्थानीयलाई १ घण्टाजति लागेको थियो। आगलागीबाट २ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

यसैबीच, बेलबारी नगरपालिका–८ त्रिवेणी चोकका गोविन्द चौधरीको घरमा राति १०:४० बजेतिर आगलागी भएको छ। डीएसपी दाहालका अनुसार आगोले कर्कटपाताको छानो भएको एक तले घर र घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायत जलेर ध्वस्त भएको छ। विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार आगलागीबाट १ लाख ७५ हजार रूपैयाँ बराबरको क्षति भएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर