Aamsanchar

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयाे

Author Image
सोमवार, मंसिर १८, २०८०

विराटनगर – मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट सोमबार बिहान एकजनाको मृत्यु भएको छ । सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका–३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माझीको शव बिहान १०:३० बजेतिर जंगलमा फेला परेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बाटो हिँड्नेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । लेटाङबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको अवस्थामा माझीलाई हात्तीले आक्रमण गरेको हुनसक्ने उनको भनाइ छ । बाटोमा जम्काभेट हुँदा आक्रमण गर्दै हात्तीले टिपेर जंगलतर्फ फ्यालिदिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइन्छ ।

माझीले आफ्नो साथमा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ मर्चा बोकेको पाइएको छ । परिवारका सदस्यलाई उद्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनी मर्चा लिएर लक्ष्मीमार्ग बजारतर्फ आउँदै थिए । जानकारहरुका अनुसार घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थप्रति हात्ती अति आक्रामक हुन्छ ।

 

घरेलु मदिरा बनाउने गरिएका घरहरुलाई लक्षित गरेर हात्तीले बढी नै वितण्डा मच्चाउने गरेको जानकारहरु बताउँछन् । ‘हात्तीले सबैतिर वितण्डा मच्चाइरहेको हुन्छ,’ एक प्रहरीले भने, ‘तर, घरेलु मदिरा उत्पादन गर्ने घरहरुमा धेरै दुःख दिने र झन् बढी क्षति पुर्‍याउने गरेको पाइन्छ ।’

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोष्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार भाउन्ने आसपासमा आइतबार रातभर हात्ती देखा परेका थिए । २०–२२ वटाको संख्यामा रहेको हात्तीको बथानलाई स्थानीय र प्रहरीले जंगलतर्फ धपाएको डीएसपी दाहालले बताए । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जंगली हात्ती देखा परिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर