Aamsanchar

काँकडभिट्टा–लौकही एसियन सडक : सडक विभागद्वारा रूख काट्न टाँचा लगाउन सुरु

Author Image
बिहिवार, मंसिर २१, २०८०

बिर्तामोड । पूर्वपश्चिम राजमार्ग विस्तार गर्न झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रूख कटान गरिने भएको छ ।
सडक विस्तार गर्दा सडक क्षेत्रमा पर्ने रुख कटानको लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कनको काम सुरु भएको छ ।

डिभिजन कार्यालय झापा र अन्तर्गतका निकायले सडकका रुखमा टाँचा लगाउने काम थालेको छ । सबडिभिजन कार्यालयले तीन खण्ड छुट्याएर आफ्नो क्षेत्रभित्रको राजमार्गमा रुखमा टाँचा लगाउन सुरु गरेका हुन् ।

एसियाली विकास बैंक (एडिबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइइबी) को लगानीमा निर्माण हुने चार लेनको एसियाली राजमार्गका लागि रूख कटान गर्नको काम अगाडि बढेको हो । अहिले रुखको गणना, नम्बरिङ र मूल्याङ्कनको काम सुरु गरिएको वन कार्यालयका अधिकृत ऋषिराज पराजुलीले जानकारी दिए ।

वन विभागबाट प्राप्त भएको पत्रका आधारमा सबडिभिजनका कर्मचारीलाई परिचालन गरेर काम गरिरहेको पराजुलीले बताए । मेचीनगर सबडिभिजन कार्यालयले काँकरभिट्टादेखि चारआलीसम्म, कनकाई कार्यालयले बिर्तामोडदेखि कनकाइसम्म र दमक कार्यालयले शिवसताक्षीदेखि दमक नगरपालिकासम्मका रुखमा नम्बरिङ र मूल्याङ्कनको काम गर्नेछन् ।

झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक आसपासमा साल, खयर, सिसौ, सिरिस, पीपल, वर, कदम, मसलालगायत विभिन्न प्रजातिका रुख छन् । रुखको तथ्याङ्क सङ्कलन गरेर मूल्याङ्कन गरेपछि सामुदायिक वन क्षेत्रभित्र पर्ने रुख प्रक्रिया पूरा गरेर सामुदायिक वनलाई नै बिक्रीका लागि हस्तान्तरण गरिनेछ भने बाँकी रुखलाई मूल्याङ्कनपछि वन कार्यालयले नै बिक्री गर्नेछ ।

एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टामा डेढ किलोमिटर भागमा मेची पुल र चार लेनको सडक निर्माण भइसकेको छ । बङ्गलादेशबाट भारतको बागडोग्रा हुँदै पानीट्याङ्की नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं. २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्गस्तरकै पक्की चार लेनको पुल निर्माण गरिदिएको हो ।

स्थलमार्गबाट एसियाका देशलाई जोडेर व्यापार र पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्य बोकेको यस राजमार्गको अवधारणा हो । थाइल्यान्डको बैंककबाट सुरु हुने रुट–२ अन्तर्गत म्यान्मार, बङ्गलादेश र भारत हुँदै एसियाली राजमार्ग नेपालको काँकडभिट्टाबाट पूर्वपश्चिम राजमार्गमा मिसिन्छ ।

यो राजमार्ग हालको पूर्वपश्चिम राजमार्ग भएर पश्चिम नेपालको वनबासा हुँदै भारतको दिल्लीतर्फ सोझिने आयोजनाका उपनिर्देशक प्रदीप शाक्यले जानकारी दिए । एसियाली राजमार्ग काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५.५ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेकोले अब निर्माण कार्य सुरु हुने उनले जानकारी दिए ।

झापामा ५४ दशमलव ९ किलोमिटर, मोरङमा २६ दशमलव २ किलोमिटर र सुनसरीमा २८ दशमलव ९ किलोमिटर सडकको स्तरोन्नति हुनेछ ।राजमार्गको केन्द्रबाट २५–२५ मिटरका सडकमा स्तरोन्नति हुनेछ । सडकलाई तीन भागमा विभाजित गरिएको छ । जसमा ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्ध शहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको सडक क्षेत्र हुने गरिको निर्माण प्रस्ताव मन्त्रालयले गरेको छ । ईनरुवा अनलाईबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर