Aamsanchar

कहिले बन्ला भेडेटार, रवि-राँके सडक ?

Author Image
बिहिवार, मंसिर २१, २०८०

धनकुटा –पूर्वी नेपालका ४ जिल्ला जोड्ने भेडेटार, रवि-राँके सडक सम्झौता अवधि सकिएको दुई वर्ष भइसक्दा ४० प्रतिशत मात्रै काम सकिएको छ । पौने चार अर्ब लागतको परियोजनाको थपिएको समयसमेत एक वर्षमा सकिँदै छ । तर निर्माण कम्पनीले सम्झौताअनुसार काम नगर्दा बाँकी समयमा पनि सडक बन्ने सम्भावना न्यून छ ।

धनकुटाको भेडेटारबाट पाँचथरको रवि हुँदै राँके जोड्ने एक सय किलोमिटर सडकले मोरङ र इलामलाई समेत समेट्छ । एक्जिम बैंक अफ इन्डियाको तीन अर्ब ६५ करोड रुयैयाँ लागतको यो सडक स्तरोन्नतिका लागि भारतको एप्को इन्फाटेक कम्पनीसँग २०७५ सालमै सम्झौता भएको हो ।

निर्माण कम्पनीले २०७८ मंसिरसम्ममा दुवैतर्फ एकरएक मिटर नालीसहित नौ मिटर सडक कालोपत्रे गरिसक्नुपर्थ्यो । तर पाँच वर्षअघि भएको सम्झौताअनुसार काम नहुँदा सडक अलपत्र परेको छ । त्यसपछि थपिएको म्याद पनि आगामी भदौमा सकिँदै छ । तर सडकको भौतिक प्रगति भने मुस्किलले ४० प्रतिशत मात्रै रहेको सडक सुधार तथा विकास आयोजना निर्देशनालय काठमाडौंका प्रमुख नरेन्द्र सुवेदी बताउँछन् ।

डाँडैडाँडा हुँदै खनिएकाले यो सडकमा एउटा पनि पुल छैन । ठाउँठाउँमा केही स-सानाबाहेक अन्य भौगोलिक अवरोधसमेत छैन । यति हुँदा पनि न सडक स्ट्रक्चर र कटिङको काम पूरा भएको छ न त ग्राभेल नै । बेस लेयरकै काम ८८ प्रतिशत बाँकी छ । कालोपत्रे सुरु हुने सुरसार छैन । एप्को इन्फाटेक कम्पनी भारतका इन्जिनियर आनन्दकुमार यादव भन्छन्, ‘काम भइरहेको छ । अझै एकरडेढ वर्ष लाग्छ । बेलैमा काम गर्न केही समस्या भयो ।’

सम्झौताको पहिलो तीन वर्ष र थप म्यादको एक वर्षसमेत आलटालमै बिताएको निर्माण कम्पनीले पछिल्लो समय सडकको कामलाई केही गति दिएको छ । तर अझै पनि तोकिएको अवधिमा काम सम्पन्न हुने अवस्था देखिँदैन ।कान्तिपुरटिभी बाट

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर