Aamsanchar

आगलागी हुँदा पानी फ्याँक्न नसक्ने दमकल पठाएको भन्दै विराटनगर महानगर कार्यालय घेराउ

Author Image
बिहिवार, मंसिर २१, २०८०

विराटनगर – विराटनगरमा बुधबार भएको आगलागी नियन्त्रण गर्न समयमै दमकल नपठाएको भन्दै स्थानीयले महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । विराटनगर महानगरको वारुणयन्त्र शाखामा तत्काल खबर गर्दा समेत ४५ मिनेटपछि मात्र दमकमल आएको स्थानीयको आरोप छ ।

महानगरको दमकल घटनास्थलमा पुगे पनि त्यसले पानी फ्याँक्न सकेको थिएन । त्यसपछि अर्को दमकल ल्याइएको थियो । महानगरको दमकल स्टेसन उक्त घटनास्थलबाट करिब साढे चार किलोमिटर उत्तर मानगढमा अवस्थित छ ।

विराटनगरको आगलागी नियन्त्रणमा लिन पछि इटहरी उपमहानगरपालिका र सुन्दरहरैँचा नगरपालिकाका दमकल ल्याइएको थियो । दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा परी विराटनगर–६ की ५५ वर्षीया सुशीला पासवानको घटनास्थलमै मृत्यु भएको थियो । विराटनगर–६ कै ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा मृत्यु भएको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा ६५ वर्षीया सुनिता कामतको मृत्यु भएको छ । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

विराटनगर–६ का दुखा मण्डलले सञ्चालन गरेको कबाडी गोदाममा बुधबार दिउँसो आगलागी भएको थियो । महानगरबाट हेलचेक्र्याइँ हुँदा मानवीय क्षति भएको स्थानीय दीपेन्द्र मेहताले आरोप लगाए ।

मृतक दीपककी बहिनी प्रिया मण्डलले महानगरले समयमै दमकल पठाइदिएको भए मानवीय क्षति नहुने बताउँदै भनिन्, “त्यति नजिकैबाट दमकल आउन समय लाग्नु भनेको हेलचेक्र्याइँ नै हो । दमकल आएर पनि पानी फ्याँक्न नसकेर फर्कनुजस्तो ठूलो कमजोरीको जिम्मा कसले लिन्छ ?”

यसैबीच, विराटनगर महागनरपालिकाका मेयर नागेश कोइरालाले विज्ञप्ति प्रकाशित गरी घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले निश्चित स्थान तोकेर मात्र कबाडी गोदामलगायत संवेदनशील व्यवसाय सञ्चालन गर्न अनुमति दिने र सुरक्षा मापदण्डको विषयमा पहिले पनि महानगरले छलफल गरेको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर