Aamsanchar

पशुपतिनाथमा आज नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख देखाइने

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं – पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणलाई देखाउने गरिन्छ। यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो। आज भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंखलाई मार्गशीर्ष कृष्ण औँसीका दिन आज भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ। राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ। भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ।

आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख देखाउने तयारी गरिएको हो। पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ। आजै पशुपति क्षेत्रमा बालाचतुर्दशीका दिन सोमबार शतबीज छर्दा जम्मा भएको फोहोर सफा गर्ने कार्यक्रम रहेको जनाइएको छ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, बागमती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ। केही फोहोर भने सोमबार कोषका कर्मचारीले सफा गरेका छन्। बालाचतुर्दशीका मेलाका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएका लाखौँ भक्तजनका कारण भएको फोहोर कोषका कर्मचारीले मात्र सफाइ गर्न नसक्ने भएकाले सफाइ कार्यक्रम आयोजना गरिएको पनि प्रवक्ता अधिकारीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर