Aamsanchar

आज त्रिविकाे ४९औँ दीक्षान्त समारोह

Author Image
सोमवार, पौष २, २०८०

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनुहुनेछ।

समारोह बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । विद्यार्थीका लागि बिहान १० बजेदेखि नै समारोहस्थल खुल्ला गर्ने विश्वविद्यालयले जनाएको छ । यो वर्ष १२ हजार चार सय १५ जना विद्यार्थी दीक्षित हुन लागेका छन् ।

२०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार चार सय १५ जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका त्रिविले जनाएको छ ।

यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित हुँदैछन् । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, एमफील र पीएचडीतर्फ गरी एक सय १३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने त्रिविले जनाएको छ ।

दीक्षान्त समारोहमा रहेका ५३ वटा स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ । एमफीलरपीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीहरुले राष्ट्रपतिको हातबाट नै पदक तथा प्रमाणपत्र पाउँछन् भने अरुले स्टलबाट प्रमाणपत्र लिनुपर्छ ।

त्रिविले यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै पदक बन्द गराएको हो । यसैबीच समान अङ्क ल्याउने एउटै ब्याचका विद्यार्थीहरुमध्ये त्रिविले आफूखुशी नाम छनोट गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)