Aamsanchar

तेह्रथुम र पाँचथर जाेड्ने तमोर नदीको पक्की पुल १२ वर्षदेखि अधुरै

Author Image
सोमवार, पौष २, २०८०

म्याङलुङ – तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ। २०६८ सालमा शुरु भएको पुल निर्माण आधा पनि पूरा भएको छैन।

२०६८ असारमा स्वच्छन्द निर्माण सेवा कम्पनीसँग १३ करोड रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो। पुल २०७२ असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो। तीन मिटर चौडाइ तथा १५७ मिटर लम्बाइको पुलको अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख रामकुमार देवले बताए। ‘पाँचवटा पिलर बन्नुपर्नेमा चारवटा मात्र निर्माण गरिएको छ। अब २०८१ असार मसान्तसम्मका लागि निर्माणको म्याद थप गर्दैछौँ’, उनले भने।

पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सातरआठ घण्टाको बाटो हिँडेर तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटिया पुग्नुपर्ने बाध्यता छ । तेह्रथुमको म्याङलुङदेखि धरान जान वसन्तपुर, सिधुवा, हिले, धनकुटा हुँदै घुमेर ११६ किलोमिटर पहाडै पहाडको यात्रा गर्नुपर्ने अवस्था छ । पुल बनेपछि सिधै तमोर करिडोरको बाटोबाट त्यसको आधा समयमै धरान पुग्न सकिन्छ।

पाँचथरको कुम्मायक गाँउपालिकाको नजिकको हटिया तेह्रथुमको म्याङलुङ हो । गाउँमा उत्पादित वस्तु म्याङलुङको शुक्रबारे हटियामा बेच्न लगिन्छ। म्याङलुङबाट साबुन, नुन, तेल, लत्ताकपडालगायत पिठ्युँमा बोकेरै घर फर्किनु पर्छ। कुम्मायकका बिजुवापानी, यासोक, खाल्डे, सिम्ले, स्यावरुम्बा, भुल्केलगायत गाउँबाट दाल, बदाम, मकै, कुखुरा तथा सुँगुरका पाठा लुबुघाटदेखि बिजुवापानी, सिकारीथुम्काको उकालो हिँडेर म्याङलुङ पुग्नुपर्ने बाध्यता छ।

पुल निर्माण थाल्दा म्याङलुङदेखि पुलसम्म पुग्ने सडक नभएको र सडक खन्न समय लागेको, भूकम्प, कोरोना महामारीलगायत समस्याले पुल निर्माणले गति लिन नसकेको स्वच्छन्द निर्माण कम्पनीका प्रतिनिधि अजय लामिछानेले बताए।

पटक–पटक म्याद थप्दा पनि पुल निर्माण सम्पन्न नभएको भन्दै गत म्याङलुङका अर्जुन ढुङ्गाना र लालीगुराँस नगरपालिकाका डिकबहादुर कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। ​म्याङलुङवासीले पुल निर्माणका लागि दबाब दिन प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललाई समेत ध्यानाकर्षण पत्र बुझाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर