Aamsanchar

उदयपुर जिल्ला अस्पतालमा शैया अभाव, बिरामीलाई भुइँमा राखेर उपचार

Author Image
बिहिवार, पौष ५, २०८०

उदयपुर –उदयपुर जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको छ । अस्पतालमा दक्ष र विशेषज्ञ चिकित्सकहरुको व्यवस्थापन भएपनि पर्याप्त शैया नहुँदा बिरामीलाई भुइँमा राखेर उपचार गराउनु पर्ने बाध्यता रहेको छ ।

अस्पतालमा अहिले दैनिक ५ सयदेखि १ हजार बढी बिरामीले उपचार सेवा लिँदै आएका छन । ५० बेडको अस्पताल भएपनि आन्तरिक व्यवस्थापनबाट २० बेड थपेर ७० बेड पु¥याएको भएपनि विरामीलाई भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ । ५० शैय्याको अस्पतालले पछिल्लो समय सबै खाले उपचार सेवा दिँदै आएको छ ।

हाडजोर्नी, नशा, जटिल खालका गर्भवती महिलाको सुत्केरीदेखि पित्तथैलीको पत्थरी, एपेन्डीसाईटिस, हाईड्रोसिल र हर्नियालगायत शल्यक्रिया हुने गरेका कारण हाल बेड राख्नु पर्ने बिरामीको संख्या नै १ सय बढी हुने गरेको छ । जनरल फिजिसियन लगायतका विशेषज्ञ डाक्टरहरुद्वारा सेवा दिइरहेको अस्पतालले अत्याधुनिक प्रविधिबाट उपचार सेवा सुरु भएपछि बिरामीलाई उपचारका लागि बाहिर जान नपरोस भन्ने उदेश्यले अस्पतालमा हालसालै हेमो डाइलाइसिस सेवा समेत सुरु गरेको अस्पतालका सुपरीटेन्डेन डाक्टर ज्ञानेन्द्र झाले बताउनु भयो ।

१२ जना विशेषज्ञ डाक्टर सहितको टोलीले २४ घण्टा सेवा दिइरहेको अस्पतालमा गम्भीर किसिमका बिरामी बाहेक सम्पूर्ण उपचार सेवा जिल्ला अस्पताल उदयपुरमा हुन थालेको छ । अस्पतालमा थन्किएर रहेका सम्पूर्ण उपकरणलाई अहिले संचालनमा ल्याइएको छ । अस्पतालले बितेको एक बर्षमा एक पछि अर्को सुधारका कार्यक्रमले जिल्ला अस्पताल अहिले कोशी प्रदेशकै नम्बर एक जिल्ला अस्पताल बन्न सफल भएको छ ।

बिरामीको अत्याधिक चाप बढ्न थालेपछि अस्पतालले अहिले टोकन प्रणाली मार्फत सेवा ग्राहीलाई सेवा दिइरहेको छ । जिल्ला अस्पताललाई १५ जना करार सेवाका कर्मचारी सहित विभिन्न आर्थिक सहयोगले अस्पताललाई सुविधासम्पन्न बनाउन सकिएको त्रियुगा नगरपालिकाकका नगर प्रमुख बसन्त बस्नेतको भनाइ छ । आफ्नो चुनावी वाचा पुरा गर्नकै लागि संघीय सरकारका स्वास्थ्य मन्त्रीसँगको समन्वय र त्रियुगा नगरपालिकाको १० लाख र अन्य पालिकाहरुसँगको समेत समन्वयमा आर्थिक सहयोग जुटाएर डाइलाइसिस सेवा सुचारु गर्न सम्भव भएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

दक्ष र विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध भएपनि अहिले अस्पताल भवन र बेडको अभावले सेवाग्राहीलाई केही असहज भने भएको छ । २६ करोडको एउटा भवन र ३६ करोडको अर्को भवनका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपीआर तयार गरेर प्रदेश र संघीय सरकारलाई पठाएको भएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको नगरप्रमुखखको भनाइ छ । सिन्धुली, खोटाङ, भोजपुर, सप्तरी र उदयपुर लगायतका बिरामीहरु उपचार गर्नका लागि आउने अस्पताललाई स्तरउन्नती गर्न प्रदेश र संघीय सरकारले तत्परता देखाउन आवश्यक छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर